25 May 2019

ईश्वर सर्वशक्तिमान् हुनैपर्छ

By gnn890 - Wed Feb 13, 4:29 am

colored-galaxy1

१. वैज्ञानिकहरूले एउटा ताराको मुलुकदेखि अर्को ताराको मुलुक, त्यसपछि अर्को ताराको मुलुक (Galaxy) सम्म देखिने अति शक्तिशाली दूरबीनहरू बनाइसके । उनीहरूले दूरबीनलाई रातदिन आकाशतिर फर्काएर ताराका मुलुकहरूलाई अध्ययन गर्छन्, तर आजसम्म पनि अथाह आकाशको सीमानालाई देखेका छैनन् । यस अपार आकाशलाई नाप्नाका लागि एक सेकेण्डमा १,८६,२८४ माइलको गतिमा घुइँकिने गाडीमा चढेर पूर्वतिर लाग्यौं भने करोडौं अरबौं वर्ष बितिसक्दा पनि आकाशको छेउ आइपुग्दैन । फेरि सीधा उकालो आकाशतिर लाग्यौं भने अरबौं वर्ष बितिसक्छ, तर आकाशको टुप्पो वा छाना भेटिँदैन । एक दिन यो अपार आकाश बिलकुलै खाली र शून्य थियो अनि घोर अन्धकारले व्याप्त थियो । आकाशमा न बादल उड्थ्यो, न तारा चम्कन्थ्यो । अब यस्तो आकाशलाई कसले चमचम चम्किने ताराहरू, न्यानो ज्योति दिने सूर्य, कोमल प्रकाश फैलाउने चन्द्रमा र ग्रहहरूले भरिदियो त ?

२. एकपटक कसैले जगत्विख्यात खगोलद्यिाविद् (astronomer) डा. जीनलाई ‘आकाशमा कति ताराहरू होलान्’ भनी सोधेछ । उत्तरमा उनले भनेछन्  — “संसारभरका समुद्रकिनार (beach) हरूमा जति बालुवाका कणहरू छन्, त्यति नै ताराहरू आकाशमा छन् ।” डा. जीन भेडागोठाला होइनन्, उनी हुन जगतविख्यात खगोलविद्याविद्, जसले आफ्नो दूरबीनद्वारा आकाशका पारिपारिसम्म हेर्दछन् । यसैले उनको भनाइमा सत्यता पाइन्छ । अब यही मद्रासको ‘मेरिना बीच’ नामक समुद्रकिनारलाई हेरौं । यसको पर… परसम्म फैलिएको बालुवाको मैदानलाई हेरिपठाउनोस् । दुई हातले बालुवा उठाएर बिस्तारै भुइँमा झार्नोस्, अनि अन्जाम लाउनोस्, त्यहाँ कतिओटा बालुवाका कण होलान् ! अनि पूरै मेरिना बीचमा कतिवटा होलान् त ? उसो भए पृथ्वीका ‘बीच’ हरूमा कति बालुवाका कणहरू होलान् त ? यस्तो अपरम्पार संख्यामा ताराहरूको सृजना गरी सम्पूर्ण आकाशलाई झिलिमिली पारिदिनुहुने परमेश्वर निसन्देह अपार सामर्थी हुनैपर्छ ।

३. अपरिमित आकाशमा असंख्य ताराहरू मात्र छैनन्, तर ती अति सुव्यवस्थित पनि छन् । आकाशका यी गणहरू अत्यन्त तेज गतिमा दगुरिरहेका छन्–चक्कर मरिरहेका छन्, र पनि ती कहिल्यै एक दोस्रासँग टक्कर खाँदैनन् । हाम्रै सौर जगत् (solar family) रूपी परिवारलाई लिऊँ: आफ्ना दशवटा ग्रहहरूलाई लिएर सूर्य घुमिरहेको छ । सूर्य ठूलो चक्कर मार्दै घण्टाको १९,५८,६९६ कि. मि. को रफ्तारमा दगुरिरहेको छ । हाम्रो देशको राजमार्गमा हानिएर दगुरिरहने गाडिभन्दा प्रायः पन्ध्र हजार गुणा बढी रफ्तारमा सूर्य दगुरिरहेको छ । यही दगुरिरहने सूर्यका वरिपरि घण्टा को १,०७,०१८ कि. मि. को रफ्तारमा हाम्रो पृथ्वी दगुरिरहेको छ, फेरि यस पृथ्वीका वरिपरि पनि चन्द्रमा दगुरिरहेको छ । पृथ्वी झैं अरू नौओटा ग्रहहरू पनि आ–आफ्ना चन्द्रमाका साथ यसरी नै सूर्यका वरिपरि घुमिरहेका छन् । बडो सुव्यवस्थित ढंगले, ठीक बाटामा, एक मिनेट ढिलो–छिटो नगरीकन घुमिरहने हुनाले खगोलविद्याविद्हरूले पनि पहिले–पहिले नै हिसाब गरेर औंसी, पूर्णे र ग्रहण लाग्ने घडीहरू बताउन सक्छन् । यी बाहेक अनेकौं पुछ्रे तारा (comet) हरू पनि आकाशमा भारी रफ्तारले दगुरिरहेका छन् । केही समय अघि मात्र ७० वर्षमा एकचोटि घुमेर आइपुग्ने ह्याली पुछ्रे तारा पृथ्वीसँग ठोकिन्छ भनी वैज्ञानिकहरूले भनेका हुनाले सारा पृथ्वीका थाहा पाउने मानिसहरू डरले थर–थर कामिरहेका थिए । तर ६ घण्टा अघिपछि भएकाले पृथ्वीसँग ह्याली पुछ्रे तारा ठोकिएन । ठोकिएको भए पृथ्वीका मानिसहरू बेहाल हुन्थे । कसले यी आकाशका गणहरूलाई एक अर्कासँग टक्कर नलाग्नेगरी दगुराइरहेछ ?

४. यस पृथ्वीको सतहमा तीन भाग पानी र एक भाग जमीन छन् । यही एक भागमा यूरोप, अमेरिका, अस्ट्रेलिया, एशिया र अफ्रिका छन् भने यो पृथ्वी सानो छैन । तर विद्वानहरू भन्छन्, यो सूर्य घ्याम्पोजस्तो छ र पृथ्वीलाई टिपेर यसभित्र हाल्न सकिन्छ भने यसभित्र १३ लाख पृथ्वी अँटाउनेछन् । हेर्नुहोस्, सूर्य झन् कति विशाल रहेछ त ! तर, सूर्यभन्दा ठूला ताराहरू आकाशभरि छन् । यस्ता विशाल थोकहरूलाई आकाशमा हजारौं वर्षदेखि कसले समालिरहेको छ ?

५. पृथ्वीका दुईओटा गति छन्ः पहिलोः पृथ्वीले सूर्यका वरिपरि एक सालमा एक चक्कर लगाउँदछ । यसरी सूर्यका वरिपरि २३.५ डिग्रीमा चक्कर लगाउनाले पृथ्वीमा ऋतु परिवर्तन हुन्छ, झरी पर्छ, गौंथली आउँछ, न्याउलले गाउँछ । धान, कोदो रोप्छौं, कटनी गर्छौं, हिउँदमा गाई चराउँछौं । दोस्रोः पृथ्वी चौबीस घण्टामा एक फन्को लगाउने गरेर आफ्नै धुरीमा लट्टूझैं फनन घुम्छ । यसरी घुमिदिँदा दिन र रात हुँदछन्; र हामी दिनभरि परिश्रम गर्छौं अनि रातभरि विश्राम लिन्छौं । मान्छेका निम्ति यी सबै कुराको प्रबन्ध कसले गरिरहेछ ?

            जसले शून्य आकाशमा उभिएर बडो अधिकारसहित “ताराहरूहो, तिमीहरू आओ, र अन्धकार आकाशलाई झिलीमिली पारिदेओ” भनी हुकुम गर्दा बालुवासरह ताराहरू शून्यबाट आएर आकाशलाई झिलीमिली पारिदिन्छन् भने; जसको आज्ञा पाएर ती ग्रहहरू, ती सिताराहरू ठहराइएका बाटामा निरन्तर दगुरिरहन्छन् भने; जसको सामथ्र्यद्वारा ती ताराहरू हजारौं वर्षदेखि आकाशमा थामिएर बसेका छन् भने; जसको हुकुम पाएर यो विशाल पृथ्वी मानिसहरूका लागि हिउँद, वर्षा, दिन, रात ल्याउनालाई ठीक गतिमा घुमिरहन्छ भने यी ईश्वर निस्सन्देह अपार सामथ्र्यधारी सर्वाधिकारसम्पन्न हुनैपर्छ–हुनैपर्छ; मानिसको मस्तिष्कका सम्पूर्ण तर्कले कहाली–कहाली भन्दछ, “हुनैपर्छ !!” किनकि यस्ता कुराको सृजना गर्नालाई अपार सामथ्र्यको आवश्यकता पर्छ–अपार ज्ञानको खाँचो पर्छ ।

            यसैले म गम्भीर भएर सोच्दछु–परमेश्वर यस्तै हुनुपर्छ भने, र परमेश्वर यस्तै हुनुहुन्छ भने के उहाँलाई दानवहरूले खेद्न सक्लान् त ? ‘खेद्न सक्छन्’ भनी कल्पना मात्र गर्नु पनि धत्याएको बेलाको सपना हो । परमेश्वर मानिसको कल्पनाभन्दा धेरै माथि हुनुहुन्छ ।

सृष्टि गर्नु केही कठीन छैन भनी कसैले आफ्नो मूर्खतामा सम्झन्छ भने उ बाहिर निस्कोस् र “आकाशमा अझै थप ताराहरू आओ” भनी चिच्च्याओस् । आकाशलाई झिलिमिली पार्दै अरू थप ताराहरू आए भने “सृष्टि गर्नु सजिलो रहेछ” भनी स्वीकार गरौंला । तर, ताराहरू आएनन् भने चाहिँ सृष्टिकर्ता परमेश्वर ‘झुसेमुसे देवता’ हुनुहुन्न भनी हरेकले स्वीकार गर्नैपर्छ । योचाहिँ बुद्धि भरिएको विचार हो ।

            अमेरिकाले पठाएको अन्तरिक्ष–यान (Space Craft) अपोल्लो एघार, जुलाई २० तारीख १९६९ को दिन चन्द्रमामा पुग्यो । त्यसपछि अरू पाँचवटा अपोल्लो यानहरू चन्द्रमामा पठाइए । मान्छेहरू पुगे । अपोल्लो १३ मात्र कलकाँटामा गडबडी भएको हुनाले चन्द्रमामा पुग्न सकेन । पृथ्वीमा फर्कंदा पृथ्वीदेखि २ लाख ५ हजार माइल माथि अपोल्लोले बाटो बिरायो । त्यो बाटो पहिल्याउनालाई वैज्ञानिकहरू हतार–हतार हिसाब गर्न थाले । त्यस घडी एउटा नयाँ कम्प्युटरलाई प्रयोग गरे, जसले हिसाब गरेर ८४ मिनटमा फर्कने बाटो पता लगायो । पुरानो जमानामा झैं खाता पेन्सिल लिएर हिसाब गर्नुपर्ने हो भने एउटा मानिसलाई १० लाख ४० हजार २५६ वर्ष लाग्नेथियो भनी वैज्ञानिकहरू भन्छन् । यो कत्रो ज्ञान ! मानिसको खोपडीभित्र यस्तो बुद्धि हालिदिनुहुने परमेश्वर निस्सन्देह अपार सामथ्र्यधारी हुनैपर्छ । ….देख्ने आँखालाई हेर्छौं, सुन्ने कानलाई हेर्छौं, अनि अवाक् हुन्छौं । पृथ्वीको हरेक कुराले उहाँको अपार ज्ञानको विषयमा सन्देश दिन्छ ।

            पृथ्वीभित्रका कुराहरू कति बहुमुल्य छन् ? सुन, तामा, फलाम, कोइला, तेल इत्यादि । मानिसलाई सभ्यताको सम्बन्धमा यहाँसम्म पुर्याउने कुराहरू नै यी हुन् । तर यिनलाई पृथ्वीको पेटभित्र कसले हाल्यो ? मानिसलाई चाहिन्छ भनेर पहिल्यै–सृष्टि गर्नुहुँदा नै उहाँले यो कुरालाई पृथ्वीको पेटभित्र हाल्नुभएको हो । यसकारण सृष्टिकर्ता अपार सामथ्र्यधारी मात्र होइन, तर अपार ज्ञानी पनि हुनैपर्छ । के हाम्रा ईश्वरहरू त्यस्ता छन् ?

हामीले पढेको कथा

पहाडजत्रो टाउको भएको भयङ्कर राक्षस थियो, जसको नाम दुन्दुभि थियो । त्यो राक्षस एकदिन भगवान्का साथीका दाइकहाँ जोरी खोज्दै आएछ । त्यसले पनि दुन्दुभिलाई पक्रेर टाउको चुँडाइदिएछ । त्यसपछि त्यसले त्यो टाउको घुइँक्याउँदा प्रायः चौध कि.मि. टाढामा खसेछ ।

            यही महा बलवान् दैत्यको भाइचाहिँ एकजना भगवान्का साथी थिए । यिनी दाज्यूले मलाई मार्लान् भनी थरथरी काम्थे; यसकारण भगवान्ले यिनलाई यसो भने, “नडराउनुहोस्, म तपाईंका दाइलाई मारेर तपाईंलाई छुटकारा दिनेछु । जानुहोस्, दाज्यूकहाँ गएर जोरी खोज्नुहोस् । तपाईंको हाँक सुनेर तपाईंका दाइ तपाईंसँग लड्न आउँछन्; त्यस घडि म तिनलाई लुकेर वाण हानी मारिदिनेछु ।” यो सुनी यिनी चौपट्टै खुशी भए; अनि गएर आफ्ना दाइलाई धम्की दिए । दाज्यूचाहिँ पनि निस्केर आयो । मैदानमा घमासान मल्लयुद्ध भयो । धोबी–चुटाइ भेटे तापनि ‘वाण आउँछ, र यो मर्छ’ भन्ने आशामा भाइचाहिँले अडिएर बस्ने कोसिस गरे । अन्त्यमा ह्वाल्ह्वाल्ती रगत छाद्नुपर्दा मैदानबाट भागे । अनि मुटुमा वेदना बोकी भगवान्कहाँ यसो भन्न पुगे —“मलाई दुश्मनको हातमा पारी मार्नुभन्दा बरू हजुरले नै मलाई मार्नुहोस् ।” तब ग्लानीले पीडित भएका भगवान्ले आँखाभरि आँसु लिई भने —“तपाईंहरू दुई भाइको अनुहार बिलकुलै एउटै रहेछ; चिन्नै नसकिने रहेछ; यसैले दुश्मन ठानी वाण चलाउँदा तपाईंलाई पो लाग्ला कि भनी वाण चलाइनँ….।”

            भगवानलाई पनि मान्छे चिन्न गाह्रो पर्छ भन्ने कुरालाई यस कथाले बिलकुलै स्पष्ट पार्छ । दुईजनामा एउटा, आफ्नो साथीलाई चिन्न नसक्दा साथीको प्राण झण्डै उम्क्यो भने युगयुगदेखि जन्मेर आएका अरबौं–अरबौं मानिसलाई चिन्ने कुरा त लाखौं गुणा असम्भव भइहाल्यो । त्यसमाथि अनुहार मात्र चिनेर भएन; सब मानिसहरूका जीवनको पल–पलको कुरा थाहा पाउनुपर्यो । मुखमा भगवान्को नाम लिँदै छुरी चलाउनेलाई चिन्नुपर्यो । ….अब हामीलाई पक्कापक्की थाहा भयो, सारा दुनियाँको न्याय गर्नुहुने परमेश्वरचाहिँ सर्वज्ञानी हुनैपर्छ । यो कुरा अकाट्य छ ।

            यस्ता सर्वज्ञानी, सर्वशक्तिमान् परमेश्वरलाई पछिल्तिर राखेर देब्रे–दाहिने घुम्दै जेसुकैलाई ढोग गरिहिँड्नुचाहिँ हाम्रो बुद्धिहीनता हो — समझको अभाव हो । यसैलाई आत्मिक व्यभिचार (Spiritual Adultery) भनिन्छ । सृष्टिकर्ता परमेश्वर नै स्वर्गका सर्वेसर्वा सर्वाधिकारसम्पन्न मालिक हुनुहुन्छ । उहाँ यस्तो कुरा चाहनुहुन्न । स्वर्ग उहाँको वासस्थान हो — उहाँको निजी सम्पत्ति हो । उहाँले नै तयार पार्नुभएको मुक्तिलाई प्राप्त गरेर उहाँकै उपासना गरिरहनाले मात्र हामी उहाँको ‘स्वर्ग’ मा प्रवेश गर्नेछौं । तर स्वर्गका मालिक सृष्टिकर्ताको उपासना गर्न छोडेर सृष्टिका अरू थोकहरूलाई ढोगिहिँड्दा — भक्ति गरिहिँड्दा के अर्काको स्वर्गमा पस्न पाइएला त ? ‘स्वर्ग’ ता तिनीहरूको होइन । मूर्ख पनि टाटाको चाकरी गरेर बिड्लाकहाँ ज्याला थाप्न जाँदैन; यो कुरा बुझ्नु गाह्रो छैन । यसैकारण स्वर्गमा प्रवेश गर्नालाई सर्वाधिकारसम्पन्न परमेश्वरलाई नै चिन्नु र उहाँकै उपासना गर्नु हामीलाई साह्रै खाँचो छ ।

            अब रातदिन भक्ति गरेर पनि म स्वर्गमा पस्नै पाउँदिनँ भने परमप्रधान परमेश्वरभन्दा कमको भक्ति म किन गरूँ ? स्वर्ग दुइओटा छैनन् । नाक रगेडी–रगेडी भक्ति गर्दा पनि मैले नरक नै जानुपर्छ भने म किन भक्ति गरूँ ? म एक रुपैयाँको धूपधरि बाल्दिनँ, म आफै खान्छु; दुई रुपैयाँको फलधरि चढाउँदिनँ, म आफै खान्छु, अनि नरक जान्छु । तर पनि भक्ति गरी–गरी नरक जानेहरूभन्दा म नै भाग्यशाली मानिन्छु, किनकि पृथ्वीमाथिको भक्ति गर्ने टन्टाचाहिँ मैले भोग्नुपर्दैन । आफ्नो पेट खाली राखी–राखी भगवान्लाई चढाउनुपर्दैन, त्यो खानेकुरा पनि आफैले खाएर पेट डम्म भएको स्वाद लिन पाउँछु । …होइन, मैले भक्ति गर्नैपर्छ भने म केवल — म केवल सृष्टिकर्ताकै मात्र भक्ति गर्छु । म दुःख भोग्छु, मिहेनत गर्छु, किनकि सर्वाधिकारसम्पन्न सृष्टिकर्ताको ‘स्वर्ग’ हर प्रकारको दुःख भोगेर पनि पाउनु नै लायकको छ ।

Leave a Reply