25 May 2019

दुई ईश्वरहरूका बीचमा प्रतिस्पर्धा

By gnn890 - Wed Feb 13, 4:35 am

elijah-and-prophets-of-baal

धेरै वर्ष अगाडि इस्राएल भन्ने देश एकदमै ठूलो विपत्ति संकष्टमा परेको थियो । इस्राएल देशभरी गरिबी, अनिकाल र मृत्युले सारा देशलाई नै ब्याकूल बनाएको थियो । मानिसहरूको जीवन ज्यादै कष्टकर बन्दै बाँच्न नै गाह्रो हुँदै गइरहेको थियो । त्यहाँका मानिसहरू शान्ति र आनन्दको अभिलाषामा भौतारी रहेका थिए तर तिनीहरूको जीवनमा भने शान्ति र आनन्दको अलावा खाली दुःख र कष्ट बाहेक अरू केही थिएन ।

            यी मानिसहरूको जीवनमा एकातिर दुःख कष्टले राज्य गरिरहेको थियो भने अर्कोतिर एकजना ज्यादै दुष्ट राजाले अन्याय, अत्याचारमा उनीहरूको जीवनमा राज्य गरेर उनीहरूको जीवनलाई न मर्नु, न बाँच्नु तुल्याइरहेको थियो । यो राजाले बाइबलको परमेश्वरमा विश्वास गर्नेहरूलाई ज्यादै घृणा गथ्र्यो किनभने यो राजा आफै बाल भन्ने देउतालाई पूजा गर्ने गथ्र्यो र उसलाई बाइबलमा भएको एकमात्र सत्य परमेश्वर मन पर्दैनथ्यो । धेरै जसो राष्ट्रहरूमा मानिसहरू राजालाई पछ्याउने गर्दछन् अनि इस्राएलमा पनि त्यस्तै थियो । इस्राएल देशमा भएका धेरै जसो मानिसहरू बाल देउतालाई पूजा र सेवा गर्ने गर्दथे तर सत्य परमेश्वरले तिनीहरूलाई पहिल्यै तिनीहरूले सत्य परमेश्वरलाई बाहेक अरू कुनै मूर्ति र देउतालाई पूजा गर्नु हुँदैन भनेर भन्नु भइसकेको थियो । तर ती मानिसहरूले परमेश्वरको विरूद्धमा विद्रोह गरे र तिनीहरूले परमेश्वरको आज्ञालाई पालन नगरी आफूलाई मन परे अनुसार आफ्नै बाटोमा तिनीहरू बरालिएर गए र तिनीहरूले परमेश्वरलाई त्यागे ।

यही कारण नै परमेश्वरले तीन वर्षसम्म इस्राएलमा वर्षा हुन दिनुभएन र त्यहाँ घोर अनिकाल भयो । परमेश्वरको न्याय ज्यादै कठोर भएता पनि उहाँको दया झन् प्रशस्त थियो । एक दिनको कुरा हो परमेश्वरले एकजना एलिया नाम गरेको भविष्यवक्तालाई इस्राएल देशको राजाकहाँ पठाउनुभयो । परमेश्वरले भन्नुभए अनुसार एलिया राजाकहाँ गए । राजासँग नडराइ साहससँग एलियाले भने, राजा तपाईंहरूले सत्य परमेश्वरको आज्ञालाई त्यागी (पालन नगरी) बाल देउतालाई पछ्याउनु भएको कारण आज तपाईंहरूमा यी सबै विपत्तिहरू आइपरेका छन् ।

अनि उनले जवाफ दिएः “मैले इस्राएललाई कष्ट दिएको होइन, तर तपाईं र तपाईंको पिताको घरानाले कष्ट दिनुभएको छ; किनकि तपाईंहरूले परमप्रभुका आज्ञाहरूलाई त्याग्नुभएको छ, र तपाईंचाहिँ बाल देवताहरूको पछि लाग्नुभएको छ । यसकारण अब दूतहरू पठाउनुहोस्, र सारा इस्राएललाई, साथै इजेबेलको टेबलमा खाने त्यस बाल देवताका चार सय पचास भविष्यवक्ताहरू र त्यस अशेरा देवीका चार सय भविष्यवक्ताहरूलाई कार्मेल पहाडमा मकहाँ भेला गराउनुहोस् !” तब अहाबले सबै इस्राएलीहरूकहाँ पठाए, र ती भविष्यवक्ताहरूलाई कर्मेल पहाडमा भेला गरे ।

अनि एलिया ती सबै मानिसहरूको नजिक आए, र भनेः “तिमीहरू कहिलेसम्म दोधारमा अल्झिरहन्छौ ? परमप्रभु परमेश्वर हुनुहुन्छ भने उहाँको पछि लाग तर बाल परमेश्वर हो भने त्यसको पछि लाग !” तर मानिसहरूले उनलाई एक शब्द पनि जवाफ दिएनन् । तब एलियाले ती मानिसहरूलाई भनेः “परमप्रभुको भविष्यवक्ता ता म, म मात्र बाँकी रहेको छु; तर बाल देवताका भविष्यवक्ताहरू चार सय पचासजना छन् । यसकारण मानिसहरूले हामीलाई दुईटा बहर दिऊन्; अनि एउटा बहरचाहिँ तिनीहरूले आफ्ना निम्ति छानुन्, त्यसलाई काटेर टुक्रा–टुक्रा पारून् र दाउरामाथि राखून्, तर त्यसमनि आगोचाहिँ नलगाऊन् ! अनि अर्को बहरचाहिँ म तयार गर्नेछु, अनि दाउरामाथि राख्नेछु, र त्यसमनि आगो लगाउनेछैनँ । अनि तिमीहरूले आफ्ना देवताहरूको नाम पुकार, र मचाहिँ परमप्रभुको नाम पुकार्नेछु; अनि जुन ईश्वरले आगोद्वारा जवाफ दिनुहुनेछ, त्यो ईश्वर नै परमेश्वर हुनुहुनेछ ।” तब सबै मानिसहरूले जवाफ दिएर भनेः “यो कुरा ठीक हो !” अनि एलियाले बाल देवताका भविष्यवक्ताहरूलाई भनेः “पहिले तिमीहरूले आफ्ना निम्ति एउटा बहर छानेर तयार गर; किनकि तिमीहरू धेरै छौ; अनि आफ्ना देवताहरूको नाम पुकार, तर त्यसमनि आगोचाहिँ नलगाओ !” अनि तिनीहरूलाई दिइएको बहर तिनीहरूले लगे, त्यसलाई तयार गरे र बिहानदेखि मध्यदिनसम्म यसो भन्दै बाद देवताको नाम पुकारेः “हे बाल, हाम्रो विन्ती सुनिदेऊ !” तर त्यहाँ न कुनै वाणी आयो, न जवाफ दिने कोही निस्क्यो । तब तिनीहरू त्यस बनाइएको वेदीको वरिपरि उफ्रन लागे । अनि मध्यदिनमा यस्तो भयो — एलियाले तिनहरूलाई ठट्टा गरेर भनेः “ठूलो सोरले कराओः किनकि उनी ता देवता हुन् ! उनी ध्यानमा बसेका होलान्, कतै गएका होलान्, वा यात्रामा पो छन् कि ? हुन सक्छ, उनी सुतिरहेका छन्, र बिउँझाउनैपर्छ ।” तब तिनीहरू ठूलो सोरले कराउन थाले, अनि आफूमाथि रगतको धारा नबगुन्जेल आफ्नो दस्तूरअनुसार तरवार र भालाहरूले आफू–आफूलाई काट्न–घोँच्न लागे । अनि यस्तो भयो — मध्यदिन नाघेपछि तिनीहरूले बेलुकीको बलिदान चढाउने बेलासम्म भविष्यवाणी गरिरहे; र पनि त्यहाँ न ता कुनै वाणी आयो, न जवाफ दिने कोही निस्क्यो, न ता ध्यान दिने कोही थियो ।

तब एलियाले सबै मानिसहरूलाई भनेः “मेरो नजिक आओ !” अनि सबै मानिसहरू उनको नजिक गए । तब उनले परमप्रभुको वेदी, जो भत्किएको थियो, मर्मत गरे । अनि याकूबका छोराहरूका कुलहरूको संख्याअनुसार एलियाले बाह्रओटा ढुङ्गा लिए, जुन याकूबकहाँ ‘तिम्रो नाम इस्राएल हुनेछ’ भन्ने परमप्रभुको वचन आएको थियो । अनि ती ढुङ्गाहरू लिएर उनले परमप्रभुको नाममा एउटा वेदी बनाए; अनि त्यस वेदीको वरिपरि दुई सआजति बीउ अटाउने खाडल बनाए । अनि उनले दाउरा मिलाए, त्यो बहर काटेर टुक्रा–टुक्रा पारे र दाउरामाथि राखे, अनि भनेः “चार गाग्री पानी भर, र त्यस होमबलि र दाउरामाथि खन्याइदेओ !” फेरि उनले भनेः “दोस्रोपल्ट पनि त्यस्तै गर !” अनि तिनीहरूले दोस्रोपल्ट पनि त्यसै गरे । अनि उनले भनेः “तेस्रोपल्ट पनि त्यस्तै गर !” अनि तिनीहरूले तेस्रोपल्ट पनि त्यसै गरे । अनि पानी वेदीको वरिपरि बग्यो; अनि उनले खाडल पनि पानीले भरिदिए ।

अनि बेलुकीको बलिदान चढाउने बेला भएपछि यस्तो भयो — भविष्यवक्ता एलियाले नजिक गएर भनेः “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, इस्राएलमा तपाईं नै परमेश्वर हुनुहुन्छ, र मचाहिँ तपाईंको दास हुँ, अनि मैले यी सबै कुराहरू तपाईंको वचनअनुसार गरेको हुँ भनेर आज थाहा होस् ! मेरो विन्ती सुनिदिनुहोस्, र तपाईं नै परमप्रभु परमेश्वर हुनुहुन्छ, र तपाईंले नै यिनीहरूको हृदयलाई फर्काउनुभएको छ भनी यी मानिसहरूले जानून् !” तब परमप्रभुको आगो झर्यो, र त्यसले त्यो होमबलि, त्यो दाउरा, ती ढुङ्गाहरू र त्यो माटो भस्म पार्यो, अनि खाडलमा भएको पानी पनि चाटिदियो । (१ राजा १८:१८–३८) ।

त्यस समयदेखि कुनै पनि मानिसले यसो भन्न सक्दैनथे परमेश्वर एकजना मात्र हुनुहुन्छ तर उहाँलाई पूज्ने त्यहाँ धेरै बाटाहरू छन् । तिनीहरूले पूजा गर्दै आएका बाल देउता जिउँदो, शक्तिशाली र प्रार्थना सुन्ने ईश्वर होइन भन्ने कुरा तिनीहरूले स्पष्टसँग देखे । अनि जब सबै मानिसहरूले त्यो देखे, तब उनीहरूले आफ्नो अनुहार भुइँमा टेकाएर यसो भनेः “परमप्रभु, उहाँ नै परमेश्वर हुनुहुन्छ ! परमप्रभु, उहाँ नै परमेश्वर हुनुहुन्छ ! !” (३९पद) ।

त्यही दिन तिनीहरूले सत्य परमेश्वर र झूटा देउताको बीचमा भिन्नता देखे । त्यही दिन तिनीहरूले पूज्दै आएको ईश्वर (देउता) मरेको देउता हो जसले तिनीहरूको प्रार्थना न ता सुन्न न ता जवाफ दिन नै सक्नुहुन्छ भन्ने कुराको महसूस गरे र तिनीहरू सत्य परमेश्वरतर्फ फर्के ।

प्रिय मित्र के तपाईं पनि यस्तै अवस्थामा हुनुहुन्छ ? के तपाईंले पनि भूलले सबै देउताहरू एउटै ईश्वर हुन् भनेर विश्वास गरिरहनु भएको छ कि ? के तपाईं पनि प्रार्थना गर्नुहुन्छ अनि तपाईंको प्रार्थनाको केही जवाफ पाउनु भएको छैन कि ? के तपाईंले धर्मकर्म, पूजा पाठ गर्दा पनि तपाईंको हृदयमा केही शान्ति पाउनुभएको छैन कि ? तपाईं आफैलाई मुक्ति पाएको छु जस्तो लाग्छ तर निश्चित रूपमा स्वर्ग पुग्छु कि पुग्दिनँ भन्ने पक्का निश्चयता छैन कि ? के तपाईंको मृत्यु भयो भने तपाईंलाई म स्वर्ग पुग्छु भन्ने निश्चयता छ ? कि तपाईं कहाँ पुग्नु हुन्छ तपाईंलाई थाहै छैन ? यी प्रश्नहरू ज्यादै महत्वपूर्ण प्रश्नहरू हुन् कसैले पनि यी प्रश्नहरूलाई बेवास्ता गर्न सक्दैन ।

हामी तपाईंलाई मुक्तिको र शान्तिको साँचो बाटो बताइ सहायता गर्न तत्पर छौं । यसको लागि हामीलाई निम्न ठेगानामा पत्राचार गर्नुहोस् या हामीलाई फोन मार्फत सम्पर्क गर्नुहोस् र तपाईंलाई सित्तैंमा अध्ययन पुस्तिका पनि पठाउनेछौं ।

Leave a Reply