07 December 2019

नरकको मृत्यु र बाँच्ने उपाय

By gnn890 - Mon Feb 11, 12:38 pm

Man-in-Flames-1

जुवा तास खेलेर पैसा, घरबार, ¬जग्गा–जमिन गुमाउने मान्छे मुर्ख हो । किनभने यी कुराहरू मानिसको जीवनको अभिन्न अंगहरू हुन् । हामीलाई यसको खाँचो छ । यसको आफ्नै ठाउँमा मूल्य र मापदण्ड छन् । तर मानिसको आत्मा सबैभन्दा बहुमूल्य छ । त्यसैले हामीले आफ्नै आत्माको खेलवाड गर्नु उचित हुँदैन । यदि हामीले यसो गर्छौं भने त्यो जस्तो बेकम्मा अरू को होला र ?

येशूले भन्नुभयो बाइबलमा, “अनि त्यस बेकम्मा दासलाई बाहिरको अँध्यारोमा (नरक) फालिदेओ; त्यहाँ रुवाबासी र दाह्रा–किटाई हुनेछ ।” (मत्ती २५:३०)

नरक कति मानिसले कल्पेझैं (कल्पना गरेझैं) कपोल कल्पित ठाउँ होइन । यो एउटा वास्तविक ठाउँ हो । बाइबल पल्टाएर हाम्रो हृदयरूपि आइग्लास लिएर नजर (आँखा) त्यसमा दौडाउने हो भने नरकको बारेमा काट्नै नसकिने प्रमाणहरू एक पछि अर्को हुँदै तपाईंको सामु प्रस्तुत हुनेछ । यस्ता अचूक प्रमाणहरूको जाँचबुझै नगरी नरक छैन भनेर ठाडै इन्कार गर्नु मानिस जस्तो सर्वश्रेष्ठ प्राणिको लागि सुहाउने कुरा होइन ।

त्यसैले शुरुमै दश औंला जोडी बिन्ती गर्छु तपाईंलाई नरकको दण्ड (मृत्यु) र त्यसबाट बाँच्ने ईश्वरिय उपाय के हो ? जान्ने निर्णय गर्नुहोस् र येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ ? बुझ्ने कोशिस गर्नुहोस् । किनभने येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन” , (यूहन्ना १४:६)

नरकको भयानक दण्डबाट उम्किने बाटो येशूमात्र हुनुहुन्छ । उहाँ सत्य हुनुहुन्छ, उहाँमा अजम्बरी जीवन छ । येशू ख्रीष्टले उहाँमाथि विश्वास नगर्नेहरूको बारेमा भन्नुभयो, “तिनीहरू अनन्त दण्डमा जानेछन् ।” (मत्ति २५:४६) तपाईंको लागि दर्शन ढुङ्गा (पत्थर) झैं कडा लाग्यो होला यो कुरा । तर यो तपाईंको भलाईको लागि हो । सुनारले कसि लगाएर नक्कली हो की सक्कली हो भन्दै सुनलाई जाँचे जस्तै यो कुरालाई तपाईंले पनि जाँच्नुहोस् र बुझ्नुहोस् ।

अधिकांश मान्छेको विचार यस्तो छ “मरेपछि के को नरकमा ठोस्नु (जानु) चौरासी लाख जुनी फेर्दै अन्तमा मान्छे नै बन्छ अरे” । तर एकमात्र सृष्टिकर्ता जीउँदो परमेश्वर भन्नुहुन्छ, “मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ” । (हिबु्र ९:२७)

मृत्यु, न्याय र नरक – यी तीनैओटा कुरा वास्तविक हुन् ! प्रिय मित्र बिउँझनुहोस्, होसमा आउनुहोस् ! तपाईं किन नाकको खालमा सास भएको मान्छेको “अरे, अरे” को भरमा परेर नरक जानुहुन्छ ? संसारका सबै गुरू, दार्शनिक, पैगम्बर, भगवान्, योगी, बाबा, माता, पोप, पादरी आदि आखिरमा मरे, आफैलाई फेरी बिउँताउन सकेनन् किनकि उनीहरू नाकको प्वालमा सास भएका मानिस मात्र थिए । परमेश्वर थिएनन् तर येशू ख्रीष्ट, उहाँ मारिनुभयो तीन दिनमा फेरी उही शरीरमा बौरनुभयो ! यस ऐतिहासिक घटनाले मरेपछि चौरासी लाख जुनी घुम्नुपर्छ भन्ने कथित कुरालाई पोल्टामा हालेको छ । अनि यो कुरालाई प्रमाणित गरेको छ की, येशू ख्रीष्ट नै एक दिन सारा संसारको न्याय गर्ने परमेश्वरको अद्धित्तीय पुत्र हुनुहुन्छ । तर परमेश्वर आफूले सृष्टि गरेको मानिसलाई प्रेम गर्नुहुन्छ र मानिस नरकमा गएको उहाँ चहानुहुन्न ।

तपाईंलाई यस्तो जिज्ञासा उठ्न सक्छन् “यदि परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ भने नरक जस्तो भयानक दण्डस्थान किन बनाउनुभयो ?

परमेश्वरले यसको पनि हामीलाई जवाफ दिनुभएको छ । भनेनी; उहाँले हामीलाई प्रेम गर्नुहुन्छ । यस्तो महत्वपूर्ण कुराहरू उहाँले हामीबाट लुकाएर राख्नुभएको छैन । नरक शैतान र त्यसको दुतहरूलाई दण्ड दिने स्थान हो । फेरी प्रश्न उठ्छ होला तपाईंको मनमा शैतान को हो, कसरी आयो ? यो कुरा बुझ्नुहोस् शैतानलाई परमेश्वरले सृष्टि गर्नुभएको हैन । परमेश्वरले आफ्नो सेवाको निम्ति अनगिन्ती स्वर्गदुतहरूको सृष्टि गर्नुभयो तिनीहरूको नाइकेको रूपमा एउटा प्रधान स्वर्गदुत पनि बनाउनुभयो । एकदिन उसको हृदय घमण्डले फुल्यो र म परमेश्वर जस्तै हुन्छु भनेर आफ्नो सृष्टिकर्ताप्रति विद्रोह गर्न थाल्यो । पुतली मान्छेको निम्ति बनाइएको हो तर पुतलीले म मान्छे जस्तै हुन्छु भनेर भन्न सक्दैन नी । अब यो नाथे स्वर्गदुत परमेश्वरको निम्ति उहाँ आफैले बनाउनुभएको हो त्यो जाबोले म परमेश्वर जस्तै हुन्छु भन्नु कत्रो ठूलो विद्रोह हो । त्यसैले त्यो शैतान कहलियो र त्यसलाई पछ्याउने स्वर्गदुतहरू दुष्टआत्मा कहलिए । नरक पनि तिनीहरूकै लागि परमेश्वरले बनाउनुभयो । नरकमा अर्को सुन्दर प्राणी पनि जानेवाला छ किनकि उ पनि आफ्नो सृष्टिकर्तालाई लत्याएर शैतानजस्तै स्वेच्छाचारी, घमण्डी र विद्रोही बनेको छ । पृथ्वीबाटै श्रापित भएको त्यो प्राणि मानिस हो । यसकारण मानिसले न्यायको दिनमा सृष्टिकर्ताको मुखबाट यस्तो भयावह दण्डको आज्ञा सुन्नुपर्नेछ :

“हे श्रापितहरूहो, मदेखि त्यस अनन्त आगो भित्र (नरक) गैहाल जो चाहिँ शैतान र त्यसका दुतहरूको निम्ति तयार पारिएको छ” (मत्ति २५:४५) ।

शैतान र त्यसका कोटी–कोटी (करौडौं–करोड) दुतहरूले आफ्नो हठ (विद्रोह) कहिल्यै त्याग्नेछैनन् भनेर सर्वशक्तिमान परमेश्वर जान्नुहुन्छ । त्यसैले तिनीहरूको विद्रोहको निम्ति अनन्त नरकको खाँचो महसुस गर्नुभएर परमेश्वरले नरकको सृष्टि गर्नुभयो ।

हामी शैतान झैं विद्रोही बन्नु हुँदैन । के हामीले आफ्नो विद्रोह नत्यागौं र ? के हामी परमेश्वरको न्याय र क्रोधबाट बाच्न आफूले गरेको पापबाट पश्चात्ताप नगरौं र ? के तपाईंलाई सत्य परमेश्वरसित मिलाप गर्नालाई फर्केर आउने इच्छा छैन र ? अनि उहाँमाथि विश्वास गर्ने इच्छा छैन र ?

येशूले भन्नुहुन्छ, “साँचो–साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुने माथि विश्वास गर्छ, उसँग अनन्त जीवन (कहिल्यै अन्त नहुने जीवन) छ र उ न्यायमा (नरकमा) पर्नेछैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ (यूहन्ना ५:२४)

पञ्च पाण्डवले “जे होला, होला” भन्दै द्रौपदीलाई जुवाको दाउमा राखे यो त मूर्खता हो । दिमागलाई चिसो पारेर सोच्ने हो भने कसैले यसलाई ठिक हो भनेर भन्न सक्दैन । त्यसरी नै आज धेरैजनाले मरेपछि जे होला, होला भन्दै आफ्नो अनमोल आत्मा नरकको दाउमा राख्दैछन् । के तपाईं पनि आफ्नै आत्माको जुवा खेल्नुहुन्छ ? बाइबललाई बोल्न दिने हो भने, नरक कुण्ड अथाहा गहिरो छ । जेलमा परेको मान्छे घुस खुवाएर उम्के जस्तो नरकबाट पनि उम्किन सकिहाल्छौं नि भनेर सोच्नु हुँदैन त्यसबाट उम्कने उपाय छैन । नरक रुवाबासी र दाह्राकिटाइको पीडाघर हो, प्रेम र दया नपाइने कारागार हो, सुखचैनरहित तहखाना हो, मनोरञ्जनविहिन अन्धकारपुर्ण दण्डस्थान हो । नरकको आगो कहिल्यै निभ्दैन, पीडा कहिल्यै टुङ्गिदैन (लूका १६:२३–२८) अहो कस्तो भयावह आफ्नो अनमोल आत्मा गुमाउने यस्तो जुवा नखेल्नुहोस् ।

धेरैजनाले यसरी सोच्छन् र मख्ख पर्छन्, “म एक सज्जन हुँ । म स्वर्ग जान्छु” ।

तर तपाईं मख्ख नपर्नुहोस् कृपया आफूले आफैलाई हेर्नुहोस् र आफूसित एकपटक इमान्दार भइदिनुहोस् । के तपाईंले कहिल्यै झूट बोल्नुभएको छैन र ? वा के तपाईंले कहिल्यै रिसाउँदै अरूलाई भित्र हृदयमा घृणा गर्नुभएको छैन र ? के तपाईंले हृदयमा व्यभिचार गर्नुभएको छैन र ? के तपाईंले अर्काको माल कहिल्यै चोर्नुभएको छैन र ? के तपाईंले अर्काको कुनै चिजको लोभ लालच गर्नुभएको छैन र ? यी प्रश्नहरूको इमान्दारीता साथ जवाफ दिने हो भने कसैले पनि होइन भन्न सक्दैन । ढाँटुवा, हत्यारा, व्यभिचारी, चोर, लोभीहरू, स्वर्ग होइन नरक जान योग्य हुन्छन् । अनि मानिसको हृदय जान्नुहुने परमेश्वरको फैसला यस्तो छ:

“धर्मी कोही छैन, एउटै पनि छैन । असल गर्ने कोही छैन । सबैले पाप गरेका छन् (रोमी ३:१०, २३) । पाप भनेको छालाको मैला हैन पखालेर जाने अनि यो लुकाएर लुक्दैन । बहाना गरेर जाँदैन । तर पश्चात्ताप गर्नेलाई क्षमाको उपाय छ । तपाईं के गर्नुहुन्छ?

आफ्नो निर्णयले हुन्छ जस्तै गरेर कतिले यसो भन्छन्, “मैले पाप गरें होला । तर मैले धर्म पनि गरेको छु । असल असल कामहरू पनि गरेको छु । त्यसैले म नरक जान योग्य छैनँ ।”

हामी स्वर्ग जान योग्य छौं कि छैनौं भनेर न्याय गर्ने मान्छेले होइन, परमेश्वरले नै हो । जसले आकाश, पृथ्वी र सबै थोकहरू सृष्टि गर्नुभयो । जो सबका प्रभु र सर्वोच्च न्यायधीश हुनुहुन्छ । उहाँको धार्मिकता निष्कलङ्क र उहाँको पवित्रता सिद्ध छ । तब उहाँसित सम्बन्ध राख्नलाई तपाईंको पनि सिद्ध धार्मिकता हुनु पर्दैन र ? अवश्य नै पर्छ । तर हामी कपालको एउटा केस जति पनि सिद्ध छैनौं । सृष्टिकर्ताको सामु हामी हाम्रो पापले गर्दा फोहोर र घिनलाग्दा छौं । अनि हामीले गरेका असल कामहरू, धार्मिक कामहरू मान्छेको नजरमा असल देखिएलान् । कुनै हिसाबले उपयोगी समेत होलान् । “आम्मै फलानोको छोराले कस्तो बाटो घाटो बनाए, स्कुल खोले, हस्पिटल खोले ज्यादै धर्मी मान्छे थिए बिचारा भनेर ओठ चुच्चो पार्दै चुक चुक गर्लान् आज नुहाउन गएछन (मृत्यु) ।”

तर यी सब असल कामले हृदय भित्रको पाप ढाक्दैन पापको प्रायश्चितको सवालमा यी सबै धर्मकर्म बिल्कुलै बेकम्मा छन् तिनले तपाईंलाई नरकको दण्डबाट बचाएर स्वर्गको योग्य तुल्याउन सक्दैनन् । बाइबलले भन्दछ :

“हाम्रा सबै धार्मिक कामहरू मैला थाङ्नाहरूसरह छन् ।” (यशैया ६४:६)

यसैले हाम्रो असल–असल कामहरूद्वारा, हाम्रो धर्मकर्मद्वारा हामी बुद्धिमान बनेर, सज्जन बनेर हामीले नरकको दण्डबाट छुटकारा पाउन नसक्ने भएकोले हामी आशै नभएकाहरूको निम्ति येशू प्रभु यो पापमय दुष्ट संसारमा कन्या मरियमद्वारा जन्मनुभयो । अनि अनेकौं आश्चर्य कर्महरूद्वारा आफू परमेश्वर हुँ भन्ने दाबि गर्दै अन्तमा उहाँले सारा संसारको पापीहरूको पापहरूको दण्ड भोग्दै पापीको निम्ति आफैलाई बलि चढाउनुभयो ताकी पापको कारणले कोही पनि नरकमा नष्ट नहोस् । यसरी हातपाउमा किल्ला ठोकेर क्रूसमा उहाँलाई मारियो अनि गाडियो र तेस्रो दिनमा उहाँ बौरेर उठ्नुभयो । बौरी उठेको ४० दिनपछि उहाँ स–शरीर स्वर्गारोहण हुनुभयो । यो ऐतिहासिक कुराको प्रमाण बाइबलले दिन्छ । त्यसैले येशू आज पनि जीवित हुनुहुन्छ ।

यदि मुक्ति असल कामहरूद्वारा कमाउन सकिने भएको भए हामीले घमण्ड गर्ने ठाउँ हुन्थ्यो । अँ मैले यस्तो गर्न सकेर मुक्ति पाएँ पापको क्षमा पाएँ । तर बाइबलले भन्छ परमेश्वरको सामु कुनै प्राणीले घमण्ड गर्न नपाओस् । (१कोरिन्थि १:२९)

यदि हाम्रो संस्कारले, पुरूषार्थले, दानदक्षिणाले, पापको प्रायश्चित गर्न सक्ने र नरकको दण्डबाट (मृत्यु) बाच्न सक्ने भएको भए, परमेश्वरका अनन्त पुत्र येशू ख्रीष्ट स्वर्ग देखि संसारमा देह धारण गरी आउनुपर्ने जरूरत थिएन । क्रूसमा हाम्रा पापको प्रायश्चित गर्न एक निर्दोष र निष्कलङ्क बलि भइकन आफ्नो रगत बहाउँदै मर्नुपर्ने थिएन । प्रभु येशू स्वयंले आफू क्रूसमा मारिनुभन्दा अगाडी यसरी भविष्यवाणि गर्नुभयोः उहाँ ‘येरूशलेम जानु, बूढा प्रधानहरू, मुख्य पुजाहारीहरू र शास्त्रीहरूबाट अनेकौं दुःख भोग्नु, मारिनु र तेस्रो दिनमा बौरीउठ्नु आवश्यक छ । (मत्ती १६:२१)

यसैले येशू ख्रीष्टको क्रूसको बलिदान हामीलाई नरकबाट बचाउनको लागि हाम्रो पाप क्षमाको निम्ति नभै नहुने अपरिहार्य कुरा हो ।

एकमात्र बाँच्ने उपाय

अहिलेसम्म हेरेको कुरालाई २ ओटा बुँदामा सारंशित गर्दा

१. हामी सबै पापले गर्दा नरकको योग्य छौं ।

२. हाम्रो लागि एकमात्र बाँच्ने उपाय छ ।

बाइबलले भन्दछ, “यो कुरा परमेश्वर हाम्रो मुक्तिदाताको दृष्टिमा असल र ग्रहणयोग्य छ, सबै मानिसहरूले मुक्ति पाउन् र सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ । (१तिमोथी २:३–४) किन ?

किनभने परमेश्वर एउटै हुनुहुन्छ अनि परमेश्वर र मानिसको बीचमा एउटै मध्यस्त हुनुहुन्छ । ख्रीष्ट येशू, ती मानिस जसले सबका लागि छुटकाराको दामको रूपमा आफैलाई दिहाल्नुभयो । (१तिमोथी २:५–७)

अब अनन्त नरकको मृत्युबाट बाँच्न परमेश्वरबाट प्रबन्ध गरिएको मुक्ति सित्तैमा लिनलाई प्रभु येशू ख्रीष्टको अचम्मको निमन्त्रणा छ —

“हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरूहो, मकहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु ।” (मत्ती ११:२८)

“हेर, म ढोकामा उभिन्छु, र ढकढक्याउँछु; कसैले मेरो सोर सुन्यो र ढोका खोल्यो भने म उसकहाँ भित्र आउनेछु, र ऊसँग भोजन खानेछु, अनि उसले मसँग खानेछ ।”(प्रकाश ३:२०)

तर तपाईंलाई यस्तो लाग्न सक्छ ‘म त अति नै ठूलो पापी हुँ मैले ठूला–ठूला पापहरू गरेको छु ।

येशूले अरूलाई क्षमा दिनुभए तापनि मलाई त कसरी क्षमा दिनुहोला र’ ?

हैन मित्र ! जति नै ठूलो पाप तपाईंले गर्नु भए पनि तपाईंको लागि ठूलो आशा छ । परमेश्वर भन्नुहुन्छ तिमीहरूका पापहरू सिन्दुरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन् ती गाढा राता भए तापनि ऊनजस्तै सेता हुनेछन् । (यशैया १:१८) तर यसको लागि तपाईंले गर्नुपर्ने एउटा काम छ । तपाईं आफ्नो पापदेखि, झूटा ईश्वरहरू र मुर्तिहरू देखि फनक्क फर्केर येशू ख्रीष्टकहाँ आउनुपर्छ । उहाँलाई विश्वास गर्नुपर्छ ।

“तर जसले परमेश्वरको पुत्रमाथि (येशू ख्रीष्ट) विश्वास गर्दैन उसले जीवन देख्नेछैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ ।” (यूहन्ना ३:३६)

प्रिय पाठक; नरकको मृत्युबाट बाँच्न सजिलो उपाय छ । यसको लागि तपाईंले कुनै दाम तिर्नु पर्दैन । केवल येशू ख्रीष्टमा विश्वास मात्र गर्नुपर्छ र उहाँसित तपाईंको सम्बन्ध हुनु पर्दछ ।

के तपाईंको हृदयमा प्रभुलाई पुकार्ने इच्छा छ?

स्मरण होस्, तपाईंको मुखका शब्दभन्दा पनि प्रभु तपाईंको हृदय चाहनुहुन्छ । तरैपनि तपाईंलाई आफ्नो विश्वास उहाँमाथि राख्नलाई मद्दत होस् भन्ने हेतुले यहाँ एउटा प्रार्थनाको उदाहरण दिइएको छ । एउटा कुरा निश्चित छ, उहाँ तपाईंलाई बचाउन तयार हुनुहुन्छ ।

“हे प्रभु येशू मैले तपाईंको विरुद्धमा पाप गरेको छु ! जन्मेको दिनदेखि आजसम्म तपाईंलाई अनादर गर्दै मैले शरीर र मनका लालसा पूरा गर्दै आफ्नै शरीरका कुइच्छाहरूमा जीवन बिताएको छु । मैले अविनाशी परमेश्वरलाई नाशवान मानिस, जनावर, चराचुरुङ्गी र घस्रने जन्तुको मूर्तिको रूपमा परिवर्तन गरेर ठूलो अपराध गरेको छु । तपाईंले मलाई नरकको आगोमा फाल्नुभयो भने त्यो सजाय मेरो लागि उचित हुनेथियो ! तर हे मुक्तिदाता येशू म आज पश्चात्तापले भरिएको छु । पाप र नरकबाट बाँच्न तपाईं बाहेक मेरो अरू कुनै उपाय छैन । म एक घिनलाग्दो पापी हुँ । म नरक जान योग्य छु । तर, तपाईं मेरो सबै पापहरूको निम्ति क्रूसमा मरिदिनुभयो मलाई बचाउन मेरो सजाय तपाईंले भोग्नुभयो । आज म यसको लागि तपाईंलाई धन्यवाद चढाउँदछु । मलाई पूरा विश्वास छ तपाईं जीवित हुनुहुन्छ । मलाई बचाउन सक्नुहुन्छ ! मेरो सम्पूर्ण हृदयले म तपाईंमा भरोसा गर्छु । म तपाईंलाई मेरो हृदयदेखि आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभुको रूपमा आज खुशीसाथ ग्रहण गर्दछु । साथै म विन्ती गर्दछु आजदेखि मलाई तपाईंको पवित्र आत्मा र वचनले तपाईंसितको घनिष्ठ सङ्गतिमा हिँड्न सिकाउनुहोस् ।”

“किनकि प्रभुको नाउँ पुकार्ने हरेकले मुक्ति पाउनेछ ।” (रोमी १०:१३)

यदि तपाईंले यो प्रार्थना हृदयदेखि गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ।

सम्पर्क ठेगानाः

मोबाइल नं. ९८५१०–५५७३४

९८४९८–३९०७१

Leave a Reply