23 March 2019

प्रख्यात मानिसहरूका अन्तिम शब्दहरू

By lightcast - Thu Apr 16, 10:06 am

famousperson

मृत्यु शय्यामा भएका अधिकांश मानिसहरूको साक्षी विचारणीय हुन्छन्। त्यस बेला झूट बोल्ने बानी भएको ठगले पनि साँचो बोल्न थाल्छ। जीवनकालमा मानिसले गरेका सबै काम र वचनहरूभन्दा मृत्युको मुखमा पुगेर त्यसले के भन्दछ, यसमा बढी महत्त्व छ; किनभने जुन घडी मानिसहरूले मृत्युको सामना गर्नुपर्छ, त्यस क्षणमा तिनीहरूमध्ये धेरैले जीवनभरि लगाएको भेष उतारेर आफ्नो वास्तविक रूप प्रकट गर्छन्। धेरै जनाले त्यस समयमा अचानक बुझ्छन्: तिनीहरूले आफ्नो घर-रूपी जीवन बालुवामाथि बसालेका रहेछन्। तिनीहरू मिथ्या-ज्ञानको पछि लागेर भ्रमजालमा फसेका रहेछन्। श्री एल्डस ह्यक्स्लीले भनेझैं संसारमा र हाम्रो जीवनमा भइरहेका सब कुराहरू हामीले मृत्यु-शय्याको दृष्टिकोण लिएर हेर्नुपर्छ। पवित्र बाइबलमा ईश्वरका वक्ताले यस्तो भन्छन्: ‘यसकारण हामीलाई आफ्ना दिनहरू गन्ती गर्न सिकाउनुहोस्; तब हामी बुद्धिमा मन लगाउन सकौं’। अथवा श्री लुथ्थरको अनुवादअनुसार त्यही पद यस प्रकारको छ: ‘हामी मर्नुपर्छ भन्ने कुरा हामीलाई सम्झाइदिनुहोस्, र हामी बुद्धिमानी बनौं’ (भजनसङ्ग्रह ९०:१२)।
बुद्धिमानी बन्न र साँचो बुद्धि प्राप्त गर्न हामी प्रख्यात मानिसहरूका अन्तिम शब्दहरूमा एकक्षण ध्यान दिऔं:

(इस्वीपूर्व ६३ – इस्वी १२) रोमी सम्राट अगस्टसले भने: “मैले आफ्नो नाटकरूपी जीवनमा अभिनेता भई खूब राम्ररी खेलेको थिएँ, होइन र? त्यसो भए ताली बजाएर मेरो तारिफ गर, किनभने अब यस नाटकको अन्त आइसकेको छ।”
(इस्वी १४९१ – १५४७) इङ्ग्ल्याण्डका राजा हेनरी डी एटले भने: “अँ, अब सब खतम भएको छ: मेरो राज्य, मेरो शरीर, प्राण र आत्मा!”
(इस्वी १४७६ – १५०७) इटालीका राजनेता जेसारे बोर्जाले भने: “मेरो जीवनभरि मैले सब कुराको प्रबन्ध गरेको थिएँ, तर मृत्युको लागि मैले केही तयारी गरिनँ; यसैले अब म अचानक, तयार नभई मर्नुपर्छ।”
(इस्वी १६०२ – १६६१) फ्रान्सका नेता र धर्मगुरु कार्डिनल माजेरोनले भने: “हे मेरो दु:खी आत्मा, तँ कहाँ जान्छस्? तेरो हालत के-कस्तो हुने हो?”
(इस्वी १५८८ – १६७९) अङ्ग्रेज दार्शनिक थोमस होब्जले भने: “अन्धकारभित्र म हाम फाल्न लागिरहेछु।”
(इस्वी १७११ – १७७६) ब्रिटिस नास्तिक दार्शनिक र इतिहासकार डेविड हुमले यसरी उच्च स्वरले कराएर चिच्च्याएर भने: “म आगोको ज्वालाभित्र छु!!” आशाहीन मानिसको कति भयानक दशा!!
(इस्वी १६९४ – १७७८) संसारभरि निक्कै प्रख्यात फ्रान्सेली व्यंग्यकार वोल्टेरको जीवनको अन्त त्रासित थियो। उनलाई स्याहार गर्ने नर्सले भनिन्: “यूरोपको सम्पूर्ण पैसा मलाई दिए तापनि मैले अरू कुनै नास्तिक मानिसलाई मर्दा हेर्नु नपरोस्! पाप-क्षमा पाउनको लागि उनी रातभरि चिच्च्याइरहेका थिए।”
(इस्वी १७६९ – १८२१) फ्रान्सी सम्राट नेपलेओनको विषयमा श्री मोन्थोलोनले यसो लेखे: “सम्राट मर्दैछन्; सबैले उनलाई त्यागेछन्, र उनलाई यस डरलाग्दो भीरमा एक्लै छोडेछन्। मृत्युसँग उनको संघर्ष भयानक छ।”
(इस्वी १७४९ – १८३२) जर्मन कवि योहन् केल्फगङ्ग वान् गोथेले भने: “उज्यालो चाहिएको छ, म ज्योति पाऊँ!”
(इस्वी १७९७ – १८५६) जर्मन कवि र लेखक हैनरीक् हैने ठूला निन्दक थिए; तर पछिबाट उनले आफ्नो विचारधारा बदली गरे। १८५१ सालमा उनले आफ्नो कविता-संग्रहमा यसो लेखे: “मृत्युको मुखमा पुगिसकेको जुनै मानिसले पनि ईश्वर र मानिसहरूसित आफ्नो सम्बन्ध ठीक पार्न चाहन्छ; किनकि उसको मन कमलो हुन गएको छ। … ईश्वरलाई अलिकति मात्र भए पनि ठट्टामा उडाउन र उहाँको निन्दा गर्न खोजेका मेरा जम्मै कविताहरू मैले हतार-हतार गरी जलाइदिएँ। कविता रच्ने कविभन्दा त बरु उसका कविताहरू जल्नु असल हो। … श्री हेगलको सिद्धान्त मैले धेरै समय अपनाएको थिएँ; त्यति नै पर्याप्त भयो। त्यो त अब मलाई उडाऊ पुत्रले सुङ्गुर चराएको बराबर लाग्दैछ। उडाऊ पुत्रजस्तै म परमेश्वरतिर फर्कें। थिओलोजी पढ्नेहरूको विचारमा म पछि परेको छु; तर वास्तवमा मैले साँचो परमेश्वरलाई व्यक्तिगत रुपले चिन्न पाएको छु; म उहाँकहाँ फर्केको छु।”
(इस्वी १८४४ – १९००) जर्मन दार्शनिक नीत्से पागल भई मानसिक अन्धकारमा मरे।
सर थोमस स्कोट, जसले एक समय ब्रिटिस हाउस अफ लोर्ड्सका सभापति अर्थात्, लोर्ड चान्स्लर भन्ने यूकेको सर्वोच्च पद ओगटेका थिए, उनले भने: “यस घडीसम्म मेरो लागि न ईश्वर न नरक नै थियो; तर अहिले म थाहा गर्छु, र म निश्चित छु: ईश्वर हुनुहुन्छ, र नरक पनि छ; अनि मचाहिँ त्यस विनाशमा गइरहेको छु, जो सर्वशक्तिमान् ईश्वरको तर्फबाट मलाई न्यायसङ्गत सजायको रूपमा मिलेको छ।”
(इस्वी १८७९ – १९५३) साम्यवादी नेता र तानाशाह स्टालिनको जीवनको अन्तको विषयमा उनकी छोरी स्वेत्लाना अल्लुयेवालाई विधितै थियो; किनकि तिनैलाई यी मर्न लागेका रूशी शासकले कुन्जेवा नामक गाउँमा आफूकहाँ बोलाएका थिए। तिनले १९५३ मार्चमा यसो भनेर आफ्ना बुवाका विषयमा साक्षी दिइन्: “बुवाको मृत्यु एकदम गाह्रो र भयानक थियो। परमेश्वरले आफ्ना धर्मी जनहरूलाई शान्त प्रकारले मर्न दिनुहुन्छ।”
(इस्वी १८७१ – १९४७) यूकेका प्रधान मन्त्री विन्डसन् चर्चिलले भने: “म कति मूर्ख थिएँ।”
(इस्वी १९०५ – १९८०) फ्रान्सी दार्शनिक र उपन्यासकार जान् पोल सर्त्रले यसो स्वीकारे: “म हारेको छु।”

प्रभु येशूले भन्नुभयो: “पूरा भयो!”
प्रभु येशूका पहिलो शहीद स्टिफनसले यस्तो पुकार गरे: “हे प्रभु येशू, मेरो आत्मा लिनुहोस्!”
यतिका प्रख्यात मानिसहरूको मुखबाट मृत्युको घडीमा दिएका साक्षीहरू सुनेपछि हामी गम्भीर भई कति कुरा सोच्नुपर्छ: प्रिय मित्र, प्रभु येशूबिना हरेक मानिसको दशा एउटै हुन्छ: तिनीहरू सबै अनन्त विनाशमा पुग्छन्। त्यो कुरा शायद श्री वोल्टेर र डेविड हुमजस्ता मानिसहरूले मात्र होइन, तर अरू धेरैले विश्वास गर्दैनन् र ठट्टामा उडाउँछन् होला। तर पछिबाट ती बुद्धिजीवीहरूले थाहा पाए: पवित्र बाइबलमा उल्लेख गरिएको कुरा सत्य रहेछ:

“अनि जसरी मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ।” (हिब्रू ९:२७)

अब हाम्रो निम्ति केही प्रश्नहरू बाँकी नै रहेका छन्: तपाईं र म, हामी कसरी, कुन अवस्थामा मर्छौं होला? के त्यतिखेर ईश्वरकहाँ फर्कने मौका पाइएला? कि ढिलो हुने होला? तब हाम्रा अन्तिम शब्दके हुनेछ?

प्रिय पाठक, हामी तपाईंलाई प्रेमसाथ भन्न चाहन्छौं: प्रभु येशू ख्रीष्टबिना – उहाँले बगाउनुभएको रगतबिना कसैका पापहरू क्षमा हुँदै-हुँदैनन्। सबका सब मानिसहरू पवित्र परमेश्वरको सामु दोषी छन्। धर्मी कोही पनि छैन। एउटै पनि छैन। पापीहरूको लागि अनन्त विनाश तयार भएको छ। मर्नासाथ जीवन सिद्धिन्छ भन्ने कुरामा तपाईंले विश्वास नगर्नुहोला। किनभने मृत्युमा जीवन सिद्धिन्छ भन्ने कुरा विश्वास गर्नेहरू ठूलो भ्रममा परेका छन्। परलोक छ। स्वर्ग र नरक छ। तपाईंलाई त्यस नरकको भयानक आगोका कहिले ननिभ्ने ज्वालाबाट बचाउन प्रभु येशू तयार हुनुहुन्छ।

के यहाँ उल्लेख गरिएका प्रसिद्ध मानिसहरूले मर्ने बेलामा ठट्टा मात्र गरेको तपाईंलाई लाग्दैछ? होइन, परमेश्वरसित मेल-मिलाइ नराखीकन मर्नुचाहिँ भयानक कुरा हो; यसको सामना संसारको कुनै मानिसले गर्न चाहँदैन। कसैले यसको विषयमा सुन्ने चाह पनि गर्दैन। प्राय: कसैले पनि यस सम्बन्धमा गम्भीर प्रकारले सोच्दैन र आफैबाट टाढा राख्न चाहन्छ। तर तपाईं आफैंले भन्नुहोस्: वास्तविक कुरादेखि लुक्न वा त्यसलाई टाढा राख्न खोज्नुबाट के फाइदा होला?

चीनको एकजना साम्यवादी, जसले धेरै इसाईहरूलाई मृत्युदण्डको लागि सुम्पिदिएका थिए, तिनी एउटा मण्डलीका अगुवाकहाँ आएर उनलाई सोधे: “मैले तिमीहरूमध्ये धेरै जना मरेको देख्न पाएँ, तर तिमीहरूको मृत्यु अर्कै प्रकारको छ। यसको रहस्य के होला?” के तपाईंले पन त्यसको रहस्य बुझ्नै चाहनुभएको छ? विश्वासको चुर्ण हृदय लिएर तपाईंले प्रभु येशूलाई पुकारेर तपाईंको सृष्टिकर्ता परमेश्वरसित मेल राख्नुहोस्। तब तपाईंले शान्तिसँग जिउन र शान्तिसँग मर्न सक्नुहुन्छ।

परमेश्वरसित कसरी मेल राख्न सक्छु होला भन्ने प्रश्न कसै-कसैको मनमा उठेको हुन सक्छ। उनीहरूलाई हामी यही सल्लाह दिन्छौं: परमेश्वरसित मिल्ने तपाईंले निम्न प्रार्थना चढाउनुहोस्।

“हे प्रभु येशू, मेरा सम्पूर्ण पाप र अधर्महरू क्षमा गर्नुहोस्, मेरो विद्रोह र स्वार्थ पनि; किनकि तपाईंकै विरुद्ध मैले पाप गरेको छु। तपाईं मेरा पापहरूको लागि क्रूसमा मर्नुभयो र यसरी मेरो लागि छुटकाराको दाम तिरिदिनुभयो। यसको लागि धन्यवाद! मेरो जीवनमा आउनुहोस्! म अहिले नै मेरो हृदयको ढोका खोलेर तपाईंलाई स्वागत गर्छु। अबदेखि उसो मेरो प्रभु र मुक्तिदाता हुनुहोस्! तपाईंले मलाई इन्कार गर्नुहुन्न, तर मलाई प्रेमसाथ ग्रहण गर्नुभएको र मेरो विन्ती सुन्नुभएको छ भन्ने कुरामा भरोसा राख्दै तपाईंलाई यस ठूलो मुक्ति-दानको लागि धन्यवाद चढाउँछु।”

प्रार्थना गर्दा तपाईंले कुनचाहिँ शब्दहरू प्रयोग गर्नुभएको छ, यो त्यति महत्त्वपूर्ण कुरा होइन; किनभने यो त तपाईंको हृदयको इमानदारी र विश्वासमा पूरा भर पर्छ। प्रभु येशूले भन्नुहुन्छ: “जो मकहाँ आउँछ, उसलाई म कुनै रीतिले इन्कार गर्नेछैनँ /अफाल्नेछैनँ” (यूहन्ना ६:३७)। यस वचनको प्रतिज्ञाअनुसार उहाँले तपाईंलाई पनि इन्कार गर्नुहुन्न। प्रभु येशू मृत्युमाथि जय पाउनुभएको जीवित प्रभु हुनुहुन्छ। मरेको तेस्रो दिनमा उहाँ मरेकाहरूको बीचबाट जिउँदो भई उठ्नुभयो। उहाँ परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। स्वर्ग र पृथ्वीको सम्पूर्ण अधिकार उहाँलाई दिइएको छ। केवल उहाँले मात्र तपाईंलाई मृत्यु र ननिभ्ने नरकको आगोमा पर्ने डरदेखि बचाउन र तपाईंलाई अनन्त जीवन दिन सक्नुहुन्छ। प्रभु येशूमा जय छ। उहाँको नाममा साँचो मुक्ति छ! उहाँमाथि विश्वास गर्ने निम्ति तपाईंलाई यहाँ दिइएको छ। परमेश्वरको बोलावटलाई इन्कार नगर्नुहोस्!

हुन सक्छ, तपाईंले खिसी गरेर यहाँ पढ्नुभएको कुराको वास्ता नगर्न र यी गम्भीर कुराहरू बिर्सन कोशिश गर्नुभयो होला। तब यो कुरा बुझ्नुहोस् र याद गर्नुहोस्: एकदिन, चाँडै तपाईंले मृत्युको सामना गर्नुपर्छ। अनि त्यस बेला तपाईंको हालत के-कस्तो होला? होइन, होइन; हामी मूर्ख नबनौं, तर ईश्वरको भक्ति गर्ने मानिसको निम्न प्रार्थना आफ्नै प्रार्थना तुल्याऔं: “हे परमप्रभु, मलाई मेरो अन्त र मेरो आयुको नाप कति छ, सो जान्न दिनुहोस्, र म कति क्षण-भङ्गुर रहेछु, सो जानूँ। … साँच्ची नै हरेक मानिस, जति नै उत्तम अवस्थामा किन नहोस्, ऊ बिलकुल व्यर्थ हो” (भजनसङ्ग्रह ३९:४-५)। यसकारण यसम छँदै परमेश्वरले आफ्ना वक्ताद्वारा तपाईं र मलाई यो आज्ञा दिनुहुन्छ: “आफ्नो परमेश्वरलाई भेट्न तयार होऊ!” (आमोस ४:१२)।

अरू बढी जानकारी पाउन चाहेमा तलको ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं।
जीवनमार्ग पत्राचार
पोष्ट बक्स नं. ८९७३
एन. पी. सी. नं. ६४९
काठमाडौं, नेपाल
मोबाइल नं:- ९८५१०५५७३४, ९८१८३९९२०६

Leave a Reply