म पापी ?
By gnn890 - Mon Feb 11, 12:56 pm
- 0 Comments
- 0 views
- Tweet
अस्ति एकजना आफन्तसित म कुराकानी गर्दै थिएँ र उहाँले मलाई भन्नुभयो, “म राती सुत्ने बेलामा कहिलेकाहिँ मनमा कुरा खेल्छ, मैले आज आफ्नो सामान बिकाउन ग्राहकलाई कति बढाइ–चढाइ गरी कुरा गरें । त्यो ठीक त थिएन । तिमीले त्यसलाई “पाप” भन्छौ, तर मैले त्यसलाई पाप नै त भन्दिनँ किनभने त्यो सुधार्न सकिने कुरा हो ।”
के तपाईं पनि यस्तै विचार राख्ने व्यक्ति हुनुहुन्छ ? पाप के हो ? कसरी जान्ने ?
“हरेक जसले पाप गर्दछ, त्यसले व्यवस्था पनि भङ्ग गर्दछ; किनकि व्यवस्था भङ्ग गर्नु नै पाप हो” (१ यूहन्ना ३:४) ।
व्यवस्था भङ्ग गर्नु भनेको बाबुआमाको आज्ञा नमान्नु, मान्छेको हत्या गर्नु, व्यभिचार गर्नु, चोर्नु, झूट बोल्नु, लोभ गर्नु हो । सबैलाई यो थाहा छ किनभने सबैसँग विवेक छ । कहाँबाट आयो यो विवेक र व्यवस्था ? सृष्टिकर्ता परमेश्वरबाट जो सृष्टिदेखि अलग हुनुहुन्छ, पवित्र हुनुहुन्छ । अनि उहाँलाई बाहेक सृष्टिका थोकलाई पूज्नु, मूर्तिलाई पूज्नु उहाँकै विरुद्धका काम हुन्, पाप हुन् । परमेश्वरको व्यवस्थाले यही भन्छ ।
के तपाईं पापी हुनुहुन्छ ? म त होइन जस्तो लाग्थ्यो । किनकि जस्तो सफा ऐनामा नहेरेसम्म अनुहारको दाग देखिन्न त्यस्तै परमेश्वरको पवित्र व्यवस्थाभित्र नहेरेसम्म हृदयको पाप देखिन्न । बुबाको खल्तीबाट एक रुपैयाँ चोर्नु पाप हो ? होइन जस्तो लाग्थ्यो । तर डर किन लाग्यो त ? विवेकले दोषी ठहराएको होइन त्यो ? अनि चोरी भन्ने खराब कुरा हृदयबाट आउने होइन र ? अनि हृदयबाट आउँछ भने, उसले चाहे छिमेकीको बारीबाट काँचो अम्बा चोरोस् वा छिमेकीको आँगनबाट नयाँ पल्सर चोरोस्, त्यो उही खराब हृदयले गर्दा होइन र ?
हो, पाप सबैको हृदयमा छ । तपाईंले मनलागि गर्न पाउनुभएको भए, त्यहाँ अभिभावक, अधिकारी, प्रहरी, जेल, जरिमाना, ताड्ना, सजाय जस्ता कुनै कुरा नभएका भए, तपाईंले कस्ता–कस्ता काम लालसासाथ गर्नुहुन्थ्यो होला ? मान्छेको हृदय सबभन्दा छली छ । बाइबलले भन्छ, “त्यसलाई निको नहुने रोग लागेको छ ।
प्रभु येशूले भन्नुभयो, “मानिसको हृदयबाट नै खराब विचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता निस्कँदछन् ।”
तर खुशीको कुरा, येशूले यसरी पनि भन्नुभयो, “निरोगीहरूलाई होइन, तर रोगीहरूलाई डाक्टरको खाँचो पर्दछ । म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापका निम्ति बोलाउन आएको हुँ ।”
प्रिय मित्र, अब तपाईं के गर्नुहुन्छ ?
- 0 Comments
- 0 views
- Tweet