18 July 2019

येशू ख्रीष्ट किन मर्नुभयो?

By lightcast - Wed Jun 17, 5:05 am

why_did_jesus_die

येशू किन मर्नुभयो?

येशू र बाइबलको विषयमा पाठहरू

बाइबल –- भाग   १

कण्ठ गर्नुपर्ने पद: “किनकि कुनै पनि समयमा भविष्यवाणी मानिसको इच्छाद्वारा आएन, तर परमेश्वरका पवित्र जनहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले” (२ पत्रूस १:२१)

बाइबल के हो?

बाइबल मानिसहरूको निम्ति परमेश्वरको वचन हो। यसले परमेश्वर र जीवनको बारेमा हामीले हाम्रो आफ्नै प्रयासले पनि थाह गर्न नसक्ने कुराहरूको बारेमा बताउँदछ। मानिसजातिको निम्ति यो परमेश्वरको प्रेमको उपहार हो।

बाइबल संसारमा भएका हरेक पुस्तकहरू भन्दा अत्याधिक भाषाहरूमा अनुवाद गरिएको छ। आजको दिनमा बाइबलका केही हिस्साहरू २,८०० भन्दा बेसी भाषाहरूमा उपलब्ध छन्, र सिङ्गो बाइबल ५१३ ओटा भाषाहरूमा अनुवाद गरिएको छ। पूर्ण रूपमा अनुवाद गरिएको बाइबल एशिया महादीपको हरेक मूख्य भाषामा पाइन्छ, जस्तै: हिन्दी, बङ्गाली, ऊर्दु, नेपाली, तिबेतन, थाई, भियत्नामी, इण्डोनेसियन, जापानिज र चाइनिज।

बाइबल कसरी लेखिएको हो?

बाइबल परमेश्वरले चुन्नुभएका भविष्यवक्ताहरूद्वारा लेखिएको हो। उनीहरूले उही शब्दहरू लेखे जुन शब्दहरू परमेश्वरले उनीहरूलाई उहाँको पवित्र आत्माद्वारा दिनुभयो।

“किनकि कुनै पनि समयमा भविष्यवाणी मानिसको इच्छाद्वारा आएन, तर परमेश्वरका पवित्र जनहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले” (२ पत्रूस १:२१)।

बाइबल लगभग १,६०० वर्षहरूको अन्तरालमा करिब ४० जना मानव लेखकहरूद्वारा लेखिएको हो, तरैपनि ती सबै भविष्यवक्ताहरूले एउटै सन्देश लेखे। यो ठूलो आश्चर्यजनक कुरा हो।

परमेश्वरको आत्माद्वारा प्रेरणा पाएर बाइबल लेखेका केही भविष्यवक्ताहरूको बारेमा बिचार गरौं।

मोशाले बाइबलको पहिलो पाँचओटा पुस्तकहरू लेखेका हुन्। तिनी मिश्रको राजा फाराओको महलमा एउटा राजकुमारको रूपमा हुर्किए। परमेश्वरले तिनलाई भविष्यवक्ता हुनालाई बोलाउनुभयो र तिनले इस्राएलका मानिसहरूसँग रहनको निम्ति महलको धनवान जीवनलाई इन्कार गरिदिए।

दाऊद भजनसङ्ग्रह पुस्तकको लेखक हुन्, जुन पुस्तक परमेश्वरको निम्ति गरिएका सुन्दर प्रशंसाहरूले भरिएको छ। दाऊद एक गोठाला थिए, र परमेश्वरले उनलाई इस्राएलको राजा हुनलाई बोलाउनुभयो। उनी एक साहसी सिपाही पनि थिए जसले गोल्यत नाम भएको ९ फिट अग्लो शुरबीरलाई मारेका थिए। दाऊद एक कुशल सङ्गीतकार, कवि र भविष्यवक्ता पनि थिए।

सोलोमन हित्तोपदेश पुस्तकको लेखक हुन्, जुन पुस्तक व्यवहारिक बुद्धिले भरिएको छ। उनी दाऊदका पुत्र थिए र दाऊदको मृत्युपश्चात इस्राएलको राजा बने। उनले इस्राएलको राजधानी यरूशलेममा एउटा सुन्दर मन्दिर बनाए। उनको दिनहरूमा उनी संसारकै बुद्धिमान् र धनी राजा थिए। उनको बुद्धिका कुराहरू सुन्न र उनको महिमित राज्य अवलोकन गर्न संसारका अनेक स्थानहरूबाट राजाहरू र रानीहरू आउने गर्दथे।

पावल नयाँ नियममा भएका अधिकांश पुस्तकहरूका लेखक हुन्। उनी उच्च-शिक्षा पाएका धार्मिक अगुवा थिए। उनले ख्रीष्टियानहरूलाई घृणा गर्ने गर्दथे र उनीहरूलाई सताउने गर्दथे, तर जब येशू दर्शनद्वारा उनीकहाँ देखा पर्नुभयो, उनले उहाँलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा जीवन समर्पण गरे। त्यस पश्चात, उनी सम्पूर्ण रोमी सम्राज्यमा सुसमाचार प्रचार गर्दै र मण्डलीहरू शुरु गर्दै यात्रा गरे। उनको प्रचार कार्यको कारण, उनलाई रोममा कैदी बनाइयो र रोमी सम्राट नेरोद्वारा मृत्युदण्ड दिइयो।

बाइबलको सन्देश के हो?

बाइबलको दुई महत्त्वपूर्ण विषयवस्तुहरू छन्:

पहिलो, बाइबल परमेश्वरको प्रकाश हो।

सृष्टिकार्यबाट, हामीले परमेश्वरको बुद्धि र सामर्थ्यको बारेमा सिक्न सक्छौं, तर सृष्टिका थोकहरूद्वारा हामीले परमेश्वरको गुण, आचरण, विचारहरू र योजनाहरू जान्न सक्दैनौं। परमेश्वरले ती कुराहरू बाइबलद्वारा हामीहरूलाई प्रकाश पार्नुभएको छ। बाइबलले हामीलाई येशू ख्रीष्टको बारेमा बताउँदछ। उहाँ परमेश्वरको पूर्ण प्रकाश हुनुहुन्छ। परमेश्वर कस्तो हुनुहुन्छ भनी हामीलाई देखाउनलाई उहाँ संसारमा आउनुभयो। बाइबलले बताउँदछ कि परमेश्वर पवित्र हुनुहुन्छ र उहाँमा पाप छैन। बाइबलले “परमेश्वर प्रेम हुनुहुन्छ” भनेर पनि बताउँदछ (१ यूहन्ना ४:८)। आफ्नो महान् प्रेमको कारण नै परमेश्वरले मुक्तिको योजना गर्नुभयो।

दोश्रो, बाइबल मानिहरूलाई उनीहरूको पापहरूको दण्डबाट बचाउने परमेश्वरको योजनाको प्रकाश हो।

“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो— उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्”(येशू ख्रीष्ट, यूहन्ना ३:१६)।

बाइबलले परमेश्वरको उही पुत्र कसरी सिद्ध जीवन जीउन र मानिसहरूको पापहरूको निम्ति क्रूसमा मर्नको निम्ति संसारमा आउनुभयो भनी स्पष्ट पर्दछ। येशूलाई पापीहरूको सट्टामा दण्ड दिइयो। परमेश्वरको पवित्र नियमहरू उल्लंघन गरेको हुनाले उहाँलाई मानिसहरूले तिर्नुपर्ने ऋण ख्रीष्टले नै तिरिदिनुभयो। उहाँ मर्नुभएको तीन दिनपछि, उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने प्रमाण दिन येशू मृत्युबाट बौरिउठ्नुभयो। हरेक मानिसहरूलाई मुक्तिको बारेमा सुसमाचार सुनाउन उहाँले आफ्नो चेलाहरूलाई सारा संसारमा पठाउनुभयो। उहाँलाई प्रभु र मुक्तिदाताको रूपमा विश्वास र ग्रहण गर्ने हरेकले मुक्ति पाउनेछ। आज येशू स्वर्गमा हुनुहुन्छ, तर उहाँ संसारमा आफ्नो राज्य स्थापित गर्न फेरी आउँदै हुनुहुन्छ।

बाइबलको सन्देश यही हो।

पुनरावलोकन प्रश्नहरू: बाइबल–भाग १

१.      बाइबल कतिओटा भाषाहरूमा अनुवाद गरिएका छन्?

२.      परेमश्वरका भविष्यवक्ताहरूले कुन माध्यमद्वारा बाइबल लेखे?

३.      बाइबल कतिजना लेखकहरूद्वारा लेखिएको पुस्तक हो?

४.      बाइबल कति वर्षको अन्तरालमा लेखिएको पुस्तक हो?

५.      मोशा कुन राजाको महलमा हुर्किए?

६.      सोलोमन कुन राज्यको राजा थिए?

७.      बाइबलका दुई मुख्य विषयवस्तुहरू के के हुन्?

८.      बाइबलको कुन पदले “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो” भन्दछ?

 

बाइबल – भाग २

कण्ठ गर्नुपर्ने पद: “शुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१)

बाइबललाई कसरी विभाजन गरिएको छ?

१.      बाइबलमा ६६ ओटा बेग्ला-बेग्लै पुस्तकहरू छन्। बाइबलका हरेक खण्डहरू ठिक्कसँग मिलेर एउटा सिङ्गो पुस्तक बन्दछ।

बाइबलका केही पुस्तकहरू निम्म बमोजिम हुन्:

उत्पत्ति – मानव इतिहासको शुरुको पुस्तक

प्रस्थान – परमेश्वरको व्यवस्थाको पुस्तक

भजनसङ्ग्रह – परमेश्वरको प्रशंसाको पुस्तक

हित्तोपदेश – व्यवहारिक बुद्धिको पुस्तक

मत्ती, मर्कूस, लूका, यूहन्ना – येशू ख्रीष्टको जीवनी

प्रेरित – मण्डलीहरूको शुरुको इतिहास

प्रकाश – पृथ्वीको अन्तको भविष्यवाणी

 

२.      बाइबलको प्रत्येक पुस्तकलाई अध्यायहरूमा विभाजन गरिएका छन्, र प्रत्येक अध्यायलाई पदहरूमा विभाजन गरिएका छन्। उदाहरणको निम्ति, बाइबलको पहिलो पुस्तक, उत्पत्तिमा ५० अध्यायहरू छन् र उत्पत्तिको प्रत्येक अध्यायमा झण्डै २५ पदहरूमा छन्। यसरी बाइबललाई अध्यायहरू र पदहरूमा विभाजन गर्नाले मानिसहरूलाई बाइबलमा केही कुराहरू खोज्न सजिलो हुन्छ। जस्तै: कुनै ख्रीष्टियन शिक्षकले यसो भन्न सक्छन्, “हामी उत्पत्ति १ अध्यायको १ पद अध्ययन गरौं”। यसलाई यसरी लेखिने गर्छ: उत्पत्ति १:१।

३.      बाइबललाई मूख्य दुई खण्डहरूमा विभाजन गरिएको छ: पुरानो नियम र नयाँ नियम

पुरानो नियममा ३९ ओटा पुस्तकहरू छन्। यो उत्पत्तिमा शुरु हुन्छ र मलाकीमा अन्त्य हुन्छ। नयाँ नियममा २७ ओटा पुस्तकहरू छन्। यो मत्तीमा शुरु हुन्छ र प्रकाशमा अन्त्य हुन्छ।

पुरानो नियम

पुरानो नियमले मानिसको सृष्टिको विषयमा बताउँछ। परमेश्वरले कसरी पृथ्वी सृजनुभो भन्ने वर्णन बाइबलका पहिलो अध्यायहरूले गर्दछ। त्यसपछि उहाँले पहिलो मानिस आदम र स्त्री हव्वालाई बनाउनुभयो। परमेश्वरले उनीहरूलाई कुनै एउटा सुन्दर बगैंचामा राख्नुभयो जहाँ उनीहरू परमेश्वरसँग सङ्गति गर्न र जीवनको आनन्द लिन सक्दथे। परमेश्वरले उनीहरूलाई एउटा नियम दिनुभयो। उनीहरूले असल र खराबको ज्ञान दिने जीवनको रूखको फल नखाने आज्ञा पाएका थिए।

पुरानो नियमले संसारमा कसरी पाप आयो भनी बताउँदछ। आदम र हव्वाले परमेश्वरको आज्ञा भङ्ग गरे र पापी बने। त्यसैकारण, उनीहरूका सबै नानीहरू पापीहरू हुन्। जब यस संसारमा हाम्रो जन्म भयो, हामीहरू स्वभावैले पापीहरू थियौं। यसैकारणले संसार अत्याधिक दुष्टता, दु:ख र पीडाहरूले भरिएको छ। मानिसहरू मर्नुको कारण पनि यही हो। बाइबलले भन्दछ: “पापको ज्याला मृत्यु हो”।

पुरानो नियमले येशू ख्रीष्टद्वारा मुक्तिको विषयमा परमेश्वरको योजना बारे बताउँदछ। पुरानो नियमले कसरी येशू संसारमा आउनुहुनेछ, कन्या स्त्रीद्वारा जन्मनुहुनेछ, पापरहित जीवन बिताउनुहुनेछ, ठूला-ठुला आश्चर्यकर्म गर्नुहुनेछ, र मानिसहरूको पापको दण्ड सहन क्रूसमा मर्नुहुनेछ भन्ने कुराहरूको भविष्यवाणीहरू गर्दछ।

ती अचम्मका भविष्यवाणीहरू येशूको जन्म हुनु भन्दा सैयौं वर्षहरू अगाडी लेखिएका थिए। बाइबल परमेश्वरको नै वचनहरू हुन् भन्ने कुराको धेरै प्रमाणहरू मध्ये एउटा प्रमाण यही भविष्यवाणीहरू हुन्, किनभने केवल परमेश्वरले मात्र भविष्य जान्न सक्नुहुन्छ। निम्न भविष्यवाणीहरूलाई विचार गरौं:

येशूको जन्मस्थान बारे भविष्यवाणी –

“तर तँचाहि, हे बेतलेहेम एफ्राता, तँ यहूदाका हजारौंको बीचमा सानो छस्; ता पनि तँबाट मेरा निम्ति एकजना निस्केर आउनेछन्, जो इस्राएलका शासक हुनेछन्, जसका उद्गमहरू ता प्राचीनकालदेखि, अँ, अनन्तकादेखि नै हुन्” (मीका ५:२)।

येशूका आश्चर्यकर्महरूको भविष्यवाणी –

“तब अन्धाहरूका आँखाहरू खोलिनेछन्, र बहिराहरूका कानहरू खोलिनेछन्। तब लङ्गडा मृगझैं उफ्रिनेछ, र गुँगाको जिब्रोले गाउनेछ………” (यशैया ३५:५-६)।

क्रूसमा येशूको मृत्युबारे भविष्यवाणी –

“पानीझैं म पोखिएँ, अनि मेरा सबै हड्डीहरू जोर्नीबाट फुस्केका छन्; मेरो हृदय मैनजस्तो भएको छ; त्यो मेरो पेटभित्रै पग्लेको छ। खपटोझैं मेरो बल सुकेको छ; र मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ; अनि तपाईंले मलाई मृत्युको धूलोमा पर्याउनुभएको छ। किनकि कुकुरहरूले मलाई घेरेका छन्; दुष्टहरूको झुण्डले मलाई चारैपट्टिबाट थुनेको छ; तिनीहरूले मेरा हात र मेरा पाउ छेंडे। म मेरा सबै हड्डीहरू गन्न सक्छु; तिनीहरू मलाई हेर्छन्, टक लगाएर हेर्छन्। तिनीहरू मेरा वस्त्रहरू आपसमा बाँड्छन्, र मेरो पोशाकका लागि गोला हाल्छन्” (भजनसङ्ग्रह २२:१४-१८)।

येशूको बौरिउठाइबारे भविष्यवाणी –

“किनभने तपाईंले मेरो प्राणलाई अधोलोकमा छोड्नुहुनेछैन; न ता तपाईंले आफ्नो पवित्र जनलाई सड्न दिनुहुनेछ” (भजनसङ्ग्रह १६:१०)।

 

नयाँ नियम

नयाँ नियमको पहिलो चार पुस्तकहरू (मत्ती, मर्कूस, लूका, यूहन्ना)मा येशूको जन्म, पापरहित जीवन, क्रूसको मृत्यु, र बौरिउठाइका विवरणहरू छन्।

नयाँ नियमको त्यसपछिको पुस्तक (प्रेरितहरूका काम)मा येशू ख्रीष्टको सुसमाचारको विश्वव्यापी प्रचारको शुरुको विवरण छ। यस पुस्तकमा पहिलो ख्रीष्टियन मण्डलीहरूको स्थापनाको विवरण पनि छ।

नयाँ नियमको त्यसपछिका पुस्तकहरू (रोमी-यहूदा)मा ख्रीष्टियन जीवनको बारेमा शिक्षाहरू छन्।

नयाँ नियमको अन्तिम पुस्तक (प्रकाश)मा पृथ्वीको अन्तको भविष्यवाणीहरू, संसारमा येशूको पुनर्आगमन, र उहाँको अनन्त राज्यको स्थापना बारेमा लेखिएका छन्।

 

पुनरावलोकन प्रश्नहरू: बाइबल-भाग २

१.      बाइबलमा कतिओटा पुस्तकहरू छन्?

२.      मत्तीको पुस्तकको विषयवस्तु के हो?

३.      प्रकाशको पुस्तकको विषयवस्तु के हो?

४.      बाइबलको मूख्य दुई विभाजनहरू के के हुन्?

५.      पुरानो नियम कसरी शुरु हुन्छ?

६.      संसारमा पाप कसरी पस्यो?

७.      पुरा भएका भविष्यवाणीहरू कुन हिसाबमा बाइबल परमेश्वरको वचन हो भन्ने प्रमाण हो?

८.      नयाँ नियमका पहिलो चारओटा पुस्तकहरूमा के कुराहरूको वर्णन छ?

 

 

परमेश्वर – भाग १

कण्ठ गर्ने पद: “हाम्रा प्रभु महान् र अति शक्तिशाली हुनुहुन्छ; उहाँको समझ अपार छ” (भजनसङ्ग्रह १४७:५)।

मानिसहरू प्रश्न गर्छन्, “बाइबल, ख्रीष्टियन धर्म र अरू धर्महरूमा के भिन्नता छ र?” जवाफ यही हो, सबै कुराहरू भिन्न छन्। पहिलो भिन्नता बाइबलमा प्रकाश पारिएको परमेश्वर नै हुनुहुन्छ। कुनै पनि धर्मका कुनै पनि ईश्वरहरू भन्दा उहाँ भिन्न हुनुहुन्छ।

अबको दुई पाठहरूमा बाइबलले परमेश्वरको बारेमा के भन्छ भनी हामी अध्ययन गर्नेछौं।

१.      परमेश्वर व्यक्ति हुनुहुन्छ।

उहाँ कुनै शक्ति वा बल मात्र हुनुहुन्न। उहाँ व्यक्ति हुनुहुन्छ। उहाँले सोच्नुहुन्छ, योजना गर्नुहुन्छ, कार्य गर्नुहुन्छ, बोल्नुहुन्छ, सुन्नुहुन्छ र बातचित गर्नुहुन्छ। परमेश्वरलाई जान्न सकिन्छ। मानिसहरूले उहाँलाई जान्न सकुन् र उहाँसँग सङ्गति गर्नु सकुन् भनेर नै उहाँले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो।

“तिमीहरूले पनि हामीसँग सङ्गति पाओ भनेर हामीले जे देखेका र सुनेका छौं, सो कुरा तिमीहरूलाई सुनाउँछौं। अनि हाम्रो सङ्गति साँच्चै पितासँग र उहाँका पुत्र येशू ख्रीष्टसँग छ” (१ यूहन्ना १:३)।

२.      परमेश्वर अनन्त हुनुहुन्छ।

परमेश्वरको कुनै शुरु वा अन्त्य छैन। उहाँको अस्तित्व सदैव थियो। उहाँको नामहरूमध्ये एउटा नाम “म हुँ, जो म हुँ” हो(प्रस्थान ३:१४)। अर्थात् उहाँ उही हुनुहुन्छ जसको अस्तित्व सदैव थियो। उहाँ सबै कुराहरूको कर्ता हुनुहुन्छ, सम्पूर्ण जीवनको स्रोत हुनुहुन्छ, तर उहाँको आफ्नै शुरु कुनै छैन।

“पहाडहरू उत्पन्न हुनुभन्दा अघि, अथवा पृथ्वी र संसार तपाईंले सृष्टि गर्नुभन्दा अघिदेखि, अनादिदेखि अनन्तसम्म तपाईं नै परमेश्वर हुनुहुन्छ” (भजनसङ्ग्रह ९०:२)।

३.      परमेश्वर सर्वज्ञानी हुनुहुन्छ।

परमेश्वर हरेक कुराहरू जान्नुहुन्छ। उहाँमा सबै ज्ञान र बुद्धि भरपूर छन्। परमेश्वर शुरु र अन्त्य जान्नुहुन्छ। परमेश्वर हरेक मानिसको हृदयका बिचारहरू र त्यस मानिसले बोल्ने हरेक शब्दहरू जान्नुहुन्छ। भइरहेका सबै घटनाहरू उहाँ देख्नुहुन्छ।

“हाम्रा प्रभु महान् र अति शक्तिशाली हुनुहुन्छ; उहाँको समझ अपार छ” (भजनसङ्ग्रह १४७:५)।

“परमप्रभु सनातनका परमेश्वर, सारा पृथ्वीका सृष्टिकर्ता न लल्याकलुलुक हुनुहुन्छ, न थाक्नुहुन्छ भनी के तिमीले जानेका छैनौ? अथवा के तिमीले सुनेका छैनौ? उहाँको समझ पत्ता नलाई नसक्नुको छ” (यशैया ४०:२८)।

परमेश्वर हरेक मानिसको शिरमा भएको केशहरूको सङ्ख्या जान्नुहुन्छ। एउटा जवान मानिसको शिरमा भएको केशहरूको औशत सङ्ख्या करिब १,००,००० हुन्छ भनी वैज्ञानिकहरू भन्छन्, तर परमेश्वरलाई त ठीक (जतीको त्यती) सङ्ख्या थाह छ।

येशूले भन्नभयो, “तर तिमीहरूका शिरका केशहरूधरि सबै गन्ती गरिएका छन्” (लूका १२:७)।

परमेश्वरलाई ताराहरूको सङ्ख्या र तिनीहरूको नामहरू थाह छ।

“उहाँले ताराहरूको सङ्ख्या बताउनुहुन्छ; उहाँले ती सबैलाई नाम काढी-काढी बोलाउनुहुन्छ” (भजनसङ्ग्रह १४७:४)।

हबल दुरबीन (Hubble Telescope) र अरू आधुनिक यन्त्रहरूको प्रयोगद्वारा, खगोलशास्त्रविदहरूले (astronomers) ताराको सङ्ख्या झण्डै ४० बिलियन ट्रिलियन छ भन्ने अनुमान् लगाएका छन्। यो भनेको ४० अङ्कको पछाडी अरू २१ ओटा शुन्यहरू हुनु हो! परमेश्वरले ती सबैको नामहरू जान्नुहुन्छ!

४.      परमेश्वर सबै कुराहरूको सृष्टिकर्ता हुनुहुन्छ।

परमेश्वरले ब्रम्हाण्डको सृष्टि छ दिनमा गर्नुभयो। यो कुरा बाइबलको पहिलो दुई अध्यायहरूमा वर्णन गरिएको छ (उत्पत्ति १-२)।

“शुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। …….यसरी आकाश र पृथ्वी, अनि तिनीहरूको सम्पूर्ण जमातको सृजना सिद्धियो। अनि सातौं दिनमा परमेश्वरले आफ्नो काम, जो उहाँले बनाउनुभएको थियो, सिद्धयाउनुभयो, अनि सातौं दिनमा उहाँले आफूले बनाउनुभएको आफ्नो सबै कामबाट विश्राम लिनुभयो” (उत्पत्ति १:१; २:१-२)।

“तपाईं, अँ, तपाईं मात्र परमप्रभु हुनुहुन्छ; तपाईंले नै आकाश, सर्वोच्च आकाश, त्यसको जम्मै गण, पृथ्वी र त्यसमाथि भएका सबै थोकहरू, समुद्रहरू र तिनमा भएका सबै थोकहरू बनाउनुभएको हो; अनि तपाईंले नै ती सबैलाई जोगाएर राख्नुहुन्छ; अनि स्वर्गको सेनाले तपाईंलाई दण्डवत् गर्दछ” (नहेम्याह ९:६)।

परमेश्वरको अस्तित्व सृष्टिभन्दा अघिदेखि थियो र उहाँ सृष्टिका सबै थोकहरूबाट अलग हुनुहुन्छ। परमेश्वरले सृष्टिका थोकहरू बनाउनुभयो, तर परमेश्वर आफैंचाहिँ सृष्टि हुनुहुन्न। उहाँले आकाशहरू बनाउनुभयो तर उहाँ आकाशहरूभन्दा पनि उच्च हुनुहुन्छ र आकाशहरूमा उहाँ अटाउन सक्नुहुन्न।

सृष्टिले परमेश्वरको बुद्धि र सामर्थ्यको गवाही दिन्छ, तर सृष्टि आफै परमेश्वर होइन।

“किनभने संसारको उत्पत्तिदेखि नै उहाँका नदेखिने गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र परमेश्वरत्व छर्लङ्ग देखा परेका छन्—सृष्टि गरिएका कुराहरूद्वारा जानिएका छन्; यसकारण तिनीहरूसँग कुनै बहाना छैन” (रोमी १:२०)।

परमेश्वर सबै कुराहरूको सृष्टिकर्ता हुनुहुन्छ भन्नुको अर्थ उहाँ सबै कुराहरूमाथि मालिक र प्रभु हुनुहुन्छ भन्नु हो। यसको अर्थ उहाँ मानिसको मालिक हुनुहुन्छ। मानिसहरूलाई आफ्नो नियमहरू दिएर उनीहरू कसरी जीउनुपर्छ भनी बताउने अधिकार उहाँसँग छ।

यही परमेश्वरको विरुद्धमा मानिसहरूले विद्रोह गरेकाछन्। जब आदम र हव्वाले असल र खराबको ज्ञान दिने रुखको फल खाए, उनीहरूले आ-आफ्नो जीवनमाथि परमेश्वरको स्वामित्वको विद्रोह गरे। पापको जरा यही हो।

५.      परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ।

“हे प्रभु यहोवा, हेर्नुहोस्, तपाईंले आफ्नो ठूलो शक्ति र आफ्नो फैलाइएको पाखुराले आकाश र पृथ्वीलाई बनाउनुभयो; तपाईंका निम्ति कुनै कुरा पनि कठिन छैन” (यर्मिया ३२:१७)।

परमेश्वर सर्व सामर्थी हुनुहुन्छ। बाइबलमा परमेश्वरलाई ५७ पटक सर्वशक्तिमान् (Almighty) भनिएको छ।

एकजना असल र एकजना दुष्ट गरी दुईजना परमेश्वरहरू हुनुहुन्न। यस संसारमा दुष्टताको स्रोत शैतान हो, तर ऊ अर्को परमेश्वर होइन। ऊ एउटा पतीत स्वर्गदूत हो जसले परमेश्वरको बिरोध गरेको थियो। शैतानसँग परमेश्वरको सामर्थ्य छैन। एक दिन, परमेश्वरद्वारा शैतानको न्याय गरिनेछ र आगोको झीलभित्र फ्याँकिनेछ अनि त्यसले आफ्नो दुष्ट योजनाहरू पूरा गर्न पाउनेछैन।

परमेश्वरको सर्वशक्तिमानताको निम्ति हामी धन्यवादी छौं। यदि परमेश्वर असल मात्र हुनुभएर सर्वशक्तिमान नहुनुभएको भए, उहाँ कुनै दुष्ट शक्तिद्वारा हटाइन सक्नुहुनेथियो। तर सत्य परमेश्वरलाई हटाउनसक्ने कुनै शक्ति नै छैन। उहाँको असल योजनाहरू पूरा गरिनेछन् र उहाँको राज्य सदासर्वदा रहिरहनेछ।

पुनरावलोकन प्रश्नहरू: परमेश्वर -भाग १

१.      परमेश्वरको कुन नामले उहाँ अनन्त हुनुहुन्छ भनी चिनाउँछ?

२.      वैज्ञानिकहरूको पछिल्लो गणना अनुसार, कतिओटा ताराहरू फेला परेका छन्? ४० अंक पछाडी कतिओटा शुन्य अंकहरू?

३.      ताराहरूको बारेमा परमेश्वर के जान्नुहुन्छ?

४.      के परमेश्वर र सृष्टि उहि हुन्?

५.      सृष्टिबाट परमेश्वरको बारेमा के थाह गर्न सकिन्छ?

६.      कसरी परमेश्वरसँग मानिसहरूलाई व्यवस्था दिने अधिकार छ?

७.      असल र दुष्ट गरी के दुई परमेश्वरहरू छन्?

८.      संसारमा दुष्टताको स्रोत को हो र ऊ के हो?

 

परमेश्वर – भाग २

कण्ठ गर्नुपर्ने पद: “परमप्रभु दयालु र अनुग्रही हुनुहुन्छ, रिसाउनमा ढिलो र अति करुणामय हुनुहुन्छ” (भजनसङ्ग्रह १०३:८)।

अघिल्लो पाठमा हामीले परमेश्वर व्यक्ति हुनुहुन्छ, परमेश्वर अनन्त हुनुहुन्छ, परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ र परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ भनी अध्ययन गर्यौं। यस पाठमा, हामी परमेश्वरको बारेमा थप दुईओटा कुराहरू अध्ययन गर्नेछौं।

६.      परमेश्वर पवित्र हुनुहुन्छ।

“परमप्रभु आफ्ना सबै चालहरूमा धर्मी र आफ्ना सबै कामहरूमा पवित्र हुनुहुन्छ” (भजनसङ्ग्रह १४५:१७)।

परमेश्वरको नामहरूमध्ये एउटा नाम पवित्र हो (भजनसङ्ग्र १११:९)।

पवित्रको अर्थ परमेश्वरमा पाप छैन भन्नु हो। उहाँ सिद्धरूपमा धर्मी, इमानदार, सत्य, असल, चोखो हुनुहुन्छ। असल र ठिक कार्यहरू सबै परमेश्वरबाटका हुन् र दुष्ट र बेठिक कार्यहरू कुनै पनि उहाँबाटका होइनन्।

७.      परमेश्वर प्रेम हुनुहुन्छ।

प्रेम परमेश्वरको अपरिहार्य गुण हो।

“जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिन्दैन; किनकि परमेश्वर प्रेम हुनुहुन्छ” (१ यूहन्ना ४:८)।

“र ज्ञानले जानेर नसकिने ख्रीष्टको प्रेमलाई जान्न सक, कि तिमीहरू परमेश्वरको सारा परिपूर्णताले भरपूर होओ” (एफेसी ३:१९)।

परमेश्वरको प्रेम भन्नाले उहाँ दयालु, अनुग्रहकारी, भलो र वास्ता गर्नुहुने परमेश्वर हुनुहुन्छ भन्नु हो। परमेश्वर स्नेही पिता हुनुहुन्छ।

“परमप्रभु, परमप्रभु परमेश्वर दयालु र अनुग्रहकारी, रिसाउनमा ढिलो अनि करुणा र सत्यताले भरपूर!” (प्रस्थान ३४:६)

“परमप्रभु दयालु र अनुग्रही हुनुहुन्छ, रिसाउनमा ढिलो र अति करुणामय हुनुहुन्छ।” (भजनसङ्ग्रह १०३:८)।

“जसरी बाबुले आफ्ना छोराछोरीहरूलाई टिठाउँछन्, त्यसरी नै परमप्रभुले आफ्नो डर मान्नेहरूलाई टिठाउनुहुन्छ। किनकि उहाँले हाम्रो बनावट जान्नुहुन्छ; हामी धूला हौं भन्ने कुरा उहाँले सम्झनुहुन्छ।” (भजनसङ्ग्रह १०३:१३-१४)।

परमेश्वरको प्रेम सृष्टिको शुरुमा मानिसलाई दिनुभएको उहाँको आशिषमा देखिन्छ।

परमेश्वरले सृष्टिको शुरुदेखि नै मानिसजातीप्रति वास्ता गर्नुभएको छ। उहाँले मानिसलाई उहाँको आफ्नै प्रतिरूपमा बनाउनुभयो, उसलाई एउटा अचम्मको शरीर दिनुभयो, उसलाई अचम्मको बुद्धि दिनुभयो, उसलाई एउटा अत्यन्त सुन्दर बगैँचामा राख्नुभयो, उसलाई जीवन-साथी दिनुभयो, उसलाई पृथ्वीमाथि राज्य गर्ने बनाउनुभयो र उसको अस्तित्व र आनन्दको निम्ति चाहिने हरेक आवश्यक थोकहरू प्रबन्ध गर्नुभयो। मानिसलाई चाहिने र परमेश्वरले नदिनुभएको कुनै पनि असल वा अत्यावश्यक थोक छैन।

परमेश्वरले संसारमा सास फेर्नको निम्ति स्वच्छ हावा, पिउनको निम्ति शुद्ध पानी, खानको निम्ति मनोहर थोकहरू, सुन्दर दृष्यहरू, मीठो ध्वनीहरू र मनमोहक सुगन्धहरूले भरिदिनुभयो। उहाँले खनिज पदार्थहरूले भरपूर भूमी बनाउनुभयो र यसमा उब्जाउ हुनको निम्ति विभिन्न परिकारका कृषीयोग्य फसलहरू दिनुभयो। मानिसले खेती गरेको बालीहरू परागण (pollinate) गर्न कामलाग्दो किरा-फट्याङ्ग्राहरू बनाउनुभयो र भूमीभित्र हावा भर्न गड्यौंलाहरू र सुक्ष्म जिवाणुहरू बनाउनुभयो। छहारीहरूको निम्ति, खानाको निम्ति र अरू हजारौं प्रयोजनको निम्ति परमेश्वरले असङ्ख्य प्रकारका सुन्दर रूखहरू बनाउनुभयो। उहाँले पृथ्वीलाई खनीजहरू र कच्चा धातुहरूले भर्नुभयो। परमेश्वरले मित्रता, खुशीहरू, विवाह र नानीहरूको सृष्टि गर्नुभयो।

यी सबै कुराहरू परमेश्वरको महान् प्रेमको प्रमाण हुन्।

परमेश्वरको प्रेम मानिसले पाप गरेपछि पनि तिनीहरूप्रति गर्नुभएको व्यवहारमा देखिन्छ।

मानिसले पाप गरेपछि पनि, परमेश्वरले तिनलाई अफाल्नुभएन। आदम र हव्वाले परमेश्वरको विरोधमा पाप गरेपछि, उनीहरू उहाँबाट लुके, तर उहाँले भने उनीहरूलाई त्याग्नुभएन। उहाँले उनीहरूको खोजी गर्नुभयो, र उहाँले उनीहरूलाई ताडना दिनुभएर उनीहरूको पापको कारणले पतीत भएको संसारमाथि श्राप राखिदिनु भएतापनि, उहाँले उनीहरूलाई खोज्नुभयो र उनीहरूप्रति धिरजवान हुनुभयो र उनीहरूलाई उहाँको मुक्तिको प्रस्ताव दिनुभयो।

“अनि तिनीहरूले दिनको शीतल क्षणमा बगैंचामा हिँडिरहनुभएको परमप्रभु परमेश्वरको आवाज सुने; तब आदम र तिनकी पत्नीले आफूलाई बगैंचाका रूखहरूको बीचमा परमप्रभु परमेश्वरको सामुबाट लुकाए अनि परमप्रभु परमेश्वरले आदमलाई बोलाउनुभयो, र तिनलाई भन्नुभयो: “तिमी कहाँ छौ? अनि तिनले भने: “बगैंचामा मैले तपाईँको आवाज सुनें, र म डराएँ; किनकि म नाङ्गो छु; यसैले म लुकें।”…….. अनि परमप्रभु परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका वस्त्र बनाउनुभयो, र तिनीहरूलाई पहिर्याइदिनुभयो।” (उत्पत्ति ३:८-१०, २१)

परमेश्वरले आदमको पहिलो सन्तान, हाबीलदेखी, मानिसहरूलाई मुक्तिको बारेमा प्रचार गर्न र मुक्तिदाताको आगमनको बाटो तयार गर्न भविष्यवक्ताहरू खडा गर्नुभयो।

यद्यपी मानिसहरूले परमप्रभुबाट फर्केर झूटा देवताहरू बनाए, परमेश्वर मानिसबाट टाढामा हुनुहुन्न। उहाँले मानिसलाई जीवन दिनुहुन्छ, सास दिनुहुन्छ र सम्पूर्ण थोकहरू दिनुहुन्छ। परमेश्वरले सबै मानिसहरूलाई प्रेम गर्नुहुन्छ। पुरुष र स्त्री, जवान र वृद्ध सबैले उहाँको खोजी गरेको र येशू ख्रीष्टमा भएको मुक्तिलाई ग्रहण गरेको उहाँले चाहनुहुन्छ।

“परमेश्वर जसले यो संसार र यसमा भएका सारा थोकहरूलाई बनाउनुभयो, उहाँचाहिँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको हुनाले हातले बनाएका मन्दिरहरूमा बस्नुहुन्न। न ता उहाँले केही खाँचो परेझैं गरी मानिसहरूका हातबाट सेवा नै लिनुहुन्छ; किनकि उहाँले पो सबैलाई जीवन, सास र सब थोक दिनुहुन्छ। अनि उहाँले सारा पृथ्वीमाथि वास गर्नालाई एउटै रगतबाट मानिसहरूका सबै जातिहरूलाई  बनाउनुभयो, अनि तोकिइका समयहरू र तिनीहरूका वास गर्ने सिमानाहरू ठहराउनुभयो, तिनीहरूले प्रभुलाई खोजुन् भनेर, सायद उहाँलाई छामछाम-छुमछुम गरेर भेट्टाउलान्; तैपनि उहाँ हामी हरेकबाट टाढामा हुनुहुन्न; किनकि उहाँमा हामी जिउँदछौं, हिँड्डुल गर्दछौं र अस्तित्व राख्दछौं, जसरी तपाईंहरूकै कतिजना कविहरूले पनि भनेका छन्: किनकि हामी पनि उहाँकै सन्तान हौं” (प्रेरित १७:२४-२८)

धेरै मानिसहरूले संसारमा आएका समस्याहरूको निम्ति परमेश्वरलाई दोष दिन्छन्, तर श्राप आउनुको कारण त मानिसकै पापले हो। परमेश्वरको विरुद्ध मानिसको बिद्रोहको कारणले गर्दा नै यो संसारमा यी सबै समस्याहरू भएका हुन्।

परमेश्वरको प्रेमको सबैभन्दा चहकिलो ज्योती येशू क्रूसमा मर्नुहुँदा स्पष्टरूपमा देखाइयो।

परमेश्वर अयोग्य पापीहरूको सट्टामा आफ्नो पुत्रलाई दु:ख सहन दिन इच्छुक हुनुहुन्थ्यो। परमेश्वरको पुत्रले कहिल्यै पनि पाप गर्नुभएन, तैपनि उनीहरूले मुक्ति पाउन् भन्ने उद्देश्यले उहाँले दु:ख सहनुभयो र पापीहरूको निम्ति मर्नुभयो। यो अत्यन्त महान् प्रेम हो।

“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो — उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्।”(यूहन्ना ३:१६)।

पुनरावलोकन प्रश्नहरू – परमेश्वर – भाग २

१.      बाइबलमा कहाँ परमेश्वर पवित्र हुनुहुन्छ भनिएको छ, यसको अर्थ के हो?

२.      परमेश्वरको अपरिहार्य गुण के हो?

३.      परमेश्वरको प्रेम भन्नाले के बुझिन्छ?

४.      मानिसको इतिहासको शुरुमा हेर्दा, परमेश्वरको प्रेम कसरी देख्न सकिन्छ?

५.      मानिसले पाप गरेपछि, परमेश्वरले उहाँको प्रेम कसरी देखाउनुभयो?

६.      येशूलाई क्रूसमा हेर्दा, परमेश्वरको प्रेम हामीले कसरी देख्दछौं?

 

 

येशू – भाग १

कण्ठ गर्नुपर्ने पद: “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो — उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्।”(यूहन्ना ३:१६)।

१.      येशू परमेश्वरको पुत्र हुनुहुन्छ।

येशू २००० वर्ष अगाडी इस्राएलमा जन्मनुभएको थियो, तर त्यो उहाँको शुरुवात भने थिएन। उहाँ परमेश्वरक अनन्त पुत्र हुनुहुन्छ। उहाँ सम्पूर्ण थोकहरूको सृष्टिकर्ता हुनुहुन्छ।

“शुरुमा वचन हुनुहुन्थ्यो, अनि वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ नै शुरुमा परमेश्वरसँग हुनुहुन्थ्यो। सबै कुराहरू उहाँद्वारा हुनआए, अनि हुनआएका कुराहरूमध्ये कुनै पन उहाँबिना हुनआएन।…… अनि वचन शरीर हुनुभयो, अनि हाम्रा माझमा अनुग्रह र सत्यताले पूर्ण भएर वास गर्नुभयो, अनि हामीले पिताका एक मात्र जन्माइएको पुत्रको महिमाजस्तो उहाँको महिमा देख्यौं।” (यूहन्ना १:१-३, १४)।

२.      येशू कन्या स्त्रीद्वारा जन्मनुभएको थियो।

परमेश्वरको पुत्र यस संसारमा कन्या स्त्रीबाटको जन्मद्वारा आउनुभयो। उहाँकी आमा, मरियमको मगनी यूसुफसँग भएको थियो तर त्यती बेलासम्म उनीहरूको विवाह भइसकेको थिइन र उनी अझै कन्या नै थिइन्।

“अनि छैटौं महिनामा गब्रिएल स्वर्गदूत परमेश्वरपट्टिबाट गालीलको नासरत भनिने शहरमा एउटी कन्याकहाँ पठाइए, जसको मगनी दाऊदको घरानाका यूसुफ नाम भएको मानससँग भएको थियो; अनि त्यस कन्याको नाम मरियम थियो। अनि स्वर्गदूत भित्र उनीकहाँ आए र भने: “हे कृपाको पात्र, सलाम! प्रभु तिमीसँग हुनुहुन्छ; स्त्रीहरूमा तिमी धन्य हौ!” अनि तिनलाई देखेर तिनका कुराले उनी आत्तिइन्, र यो कस्तो किसिमको अभिवादन होला भनी उनी मन-मनै गम्न लागिन्। अनि स्वर्गदूतले उनलाई भने: “नडराऊ, मरियम; किनकि तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। अनि हेर, तिमीले गर्धारण गर्नेछौ, र एउटा छोरा जन्माउनेछौ, र तिमीले उहाँको नाम येशू राख्नू। उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ; अनि प्रभु परमेश्वरकले उहाँलाई उहाँका पिता दाऊदको सिंहासन दिनुहुनेछ। अनि उहाँले याकूबको घरानामाथि सदासर्वदै राज्य गर्नुहुनेछ; र उहाँको राज्यको अन्त हुनेछैन।” तब मरियमले स्वर्गदूतलाई भनिन्: “यो कसरी हुनेछ र? किनकि म कुनै पुरुषलाई जान्दिनँ नै।” अनि स्वर्गदूतले जवाफ दिएर उनलाई भने: “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको सामर्थ्यले तिमीमाथि छाया पार्नेछ; यसैकारण तिमीबाट जन्मिनुहुने पवित्र जनचाहिँ ‘परमेश्वरको पुत्र\ कहलाइनुहुनेछ।” (लूका १:२६-३५)।

येशू ख्रीष्टको जन्म काठको कामगर्ने एकजना गरीब मानिसको घरमा भएको थियो। उहाँ जन्मनु भएको रात, मरियम र यूसुफ यात्रा गरिरहेका थिए र उनीहरू एउटा गोठमा बस्नुपरेको थियो किनभने उनीहरूले तिर्नसक्ने बहालमा कोठाहरू पाइएनन्। उहाँ जन्मनुभएको रातमा, बालक येशूलाई कुनै जनावरको डुँडमा सुताइएको थियो।

“अनि यूसुफ पनि गालीलको नासरत शहरबाट निस्केर यहूदियामा, बेथलेहेम भनिने दाऊदको शहरमा गए; किनकि तिनी दाऊदका घराना र वंशका थिए; आफ्नी मगनी भएकी पत्नी मरियमसँग, जो गर्भवती भएकी थिइन्, तिनी नाम लेखाइन गए। अनि यस्तो भयो – उनीहरू त्यहाँ रहँदा-रहँदै उनका जन्माउने दिनहरू पूरा भए। अनि उनले आफ्ना जेठा छोरालाई जन्माइन्, र उहाँलाई लपेट्ने लुगाहरूमा बेरेर उहाँलाई डुँडमा राखिन्; किनकि उनीहरूका निम्ति पौवामा ठाउँ थिएन।” (लूका २:४-७)।

३.      येशू पापरहित हुनुहुन्छ।

आदमको कारणले संसारमा पाप पस्यो। येशूको संसारीक बुबा नहुनुभएको हुनाले, उहाँमा कुनै पाप छैन।

“उहाँले कुनै पाप गर्नुभएन, न ता कुनै छलकपट नै उहाँको मुखमा पाइयो”(१ पत्रूस २:२२)।

येशूले कहिल्यै झूठ बोल्नुभएन, कहिल्यै खराब शब्दहरू बोल्नुभएन, कहिल्यै कसैको लाञ्छनाको विरुद्धमा बोल्नुभएन। उहाँको हृदयमा कहिल्यै पनि दुष्ट विचारहरू समेत थिएनन्।

४.      येशू एक यहूदी हुनुहुन्थ्यो।

येशूको जन्म यहूदी परिवारमा भएको हो। यहूदीहरू इस्राएल राष्ट्रका मानिसहरू हुन्। येशू यहूदी जातिका पिता, अब्राहामको वंश हुनुहुन्थ्यो। उहाँ इस्राएलको बेथलेहेम भनिने एउटा सानो गाउँमा जन्मनुभयो, जुनचाहिँ राजधानी येरुशलेमको नजिकमा पर्छ। उहाँ बालक हुनुहुँदा, उहाँका बुबा-आमा इस्राएलको उत्तरतर्फ र गालीलको समुद्र नजिक नासरत भनिने ठाउँमा सर्नुभयो। येशू यहीँ हुर्कनुभयो र यहीँबाट उहाँले आफ्नो सार्वजनिक सेवकाइ शुरु गर्नुभयो।

येशूले उहाँको सम्पूर्ण जीवनकाल इस्राएलमै बिताउनुभयो। उहाँले आफ्ना सबै आश्चर्यकर्महरू गर्नुभयो र सबै प्रचारहरू इस्राएलमा नै गर्नुभयो।

५.      येशूले ठूला-ठूला आश्चर्यकर्महरू गर्नुभयो।

येशू तीस बर्षको हुनुहुँदा, उहाँले आफ्नो सार्वजनिक सेवकाइ शुरु गर्नुभयो। उहाँले रोगीहरू निको पार्ने, अन्धाहरूलाई देख्ने तुल्याउने, दुष्ट आत्माहरू निकाल्ने र मरेकोलाई बौरिउठाउने जस्ता ठूला-ठूला आश्चर्यकर्महरू गर्नुभयो। ती आश्चयर्कर्महरूले उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने प्रमाणित गरे।

“अब घाम अस्ताउँदै गर्दा, जस-जसकहाँ नाना प्रकारका रोग लागेका बिरामीहरू थिए, उनीहरू सबले तिनीहरूलाई उहाँकहाँ ल्याए; अनि उहाँले आफ्ना हात तिनीहरूमाथि राख्नुभयो, र तिनीहरूलाई निको पार्नुभयो। अनि दुष्ट आत्माहरू पनि धेरैजनाबाट कराउँदै र यसो भन्दै निस्के: “तपाईं परमेश्वरका पुत्र ‘ख्रीष्ट’ हुनुहुन्छ!” अनि उहाँले तिनीहरूलाई हकारेर बोल्न दिनुभएन, किनकि उहाँ ख्रीष्ट हुनुहुन्छ भनी तिनीहरूले चिन्दथे।” (लूका ४:४०-४१)।

“अनि ठूला-ठूला भीड आफूसित लङ्गडा, अन्धा, लाटा, कूँजा, र अरू धेरैलाई लिएर उहाँकहाँ आए, अनि तिनीहरूलाई येशूका पाउमा राखिदिए; अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। यहाँसम्म कि लाटाहरू बोलेका, कूँजाहरू निको भएका, लङ्गडाहरू हिँडेका, अन्धाहरू देख्ने भएका देखेर भीडहरू छक्कै परे; र तिनीहरूले इस्राएलका परमेश्वरको महिमा गरे” (मत्ती १५:३०-३१)।

“अनि उहाँ घरभित्र आउनुभएपछि ती अन्धा मानिसहरू उहाँकहाँ आए; अनि येशूले तिनीहरूलाई भन्नुभयो: “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्छौ?” तब उहाँले यसो भन्दै तिनीहरूका आँखा छुनुभयो: तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होओस्”(मत्ती ९:२८-२९)।

“अनि हेर, एउटा कोरी आयो र यसो भन्दै उहाँलाई दण्डवत् गर्यो: “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने तपाईंले मलाई शुद्ध पार्न सक्नुहुन्छ।” अनि येशूले आफ्नो हात पसारेर यसो भन्दै उसलाई छुनुभयो: “म इच्छा गर्दछु, तिमी शुद्ध होऊ।” अनि तुरुन्तै उसको कोर शुद्ध भइहाल्यो”(मत्ती ८:२-३)।

“अब, जब उहाँ शहरको ढोकानेर आउनुभयो, तब हेर, एउटा मरेको मानिस बाहिर लगिँदै थियो, जो आफ्नी आमाको एउटै मात्र छोरो थियो; अनि ऊ विधवा थिई। अनि शहरको एउटा ठूलो भीड उसको साथमा थियो। अनि जब प्रभुले उसलाई देख्नुभयो, तब उहाँ उसप्रति दयाले भरिनुभयो, र उसलाई भन्नुभयो: “नरोऊ।” अनि उहाँले आएर अर्थी छुनुभयो; र ती बोक्नेहरू टक्क अडिए। अनि उहाँले भन्नुभयो: “हे जवान, म तिमीलाई भन्छु, उठ।” अनि त्यो मरेको मानिस उठेर बस्यो, र बोल्न थाल्यो। अनि उहाँले त्यसलाई त्यसकी आमाकहाँ सुम्पिनुभयो” (लूका ७:१२-१५)।

येशूले आँधी शान्त पार्नुभयो।

“अनि भीडलाई बिदा दिएपछि तिनीहरूले उहाँलाई, जस्तो उहाँ डुङ्गामा हुनुहुन्थ्यो, त्यस्तै नै लिएर गए। अनि उहाँका साथमा अरू साना-साना डुङ्गा पनि थिए। अनि एउटा ठूलो आँधी चल्यो, र छालहरू डुङ्गामाथि बजारिए, यो हुँदा त्यो अब पानीले भरियो।….. अनि उहाँ उठ्नुभयो र बतासलाई हकार्नुभयो, अनि समुद्रलाई भन्नुभयो: “चुप लाग्! शान्त हो!” अनि बतास थामियो, र एकदमै शान्त भयो”(मर्कूस ४:३६-३७, ३९)।

येशूले थोरै खानाबाट हजारौं मानिसहरूलाई खान्दिनुभयो।

“अनि दिन ढल्कँदै गएपछि ती बाह्रजनाले आएर उहाँलाई भने: “यस भीडलाई बिदा गरिदिनुहोस्, र तिनीहरू वरिपरिका गाउँ वस्तीहरूहुँदो जाऊन्, वास बसून् र खानेकुरा पाऊन्; किनभने हामी यहाँ एकान्त स्थानमा छौं।” तर उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूले नै यिनीहरूलाई खान देओ।” अनि तिमीहरूले भने: “यी सबै मानिसहरूका निम्ति गएर खानेकुरा किनेनौं भने हामीसँग पाँचओटा रोटी र दुईटा माछाभन्दा बढी अरू केही छैन।” किनकि तिनीहरू प्राय: पाँच हजार पुरुष थिए। अनि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: “पचास पचासको दल गरी यिनीहरूलाई बसाओ।” अनि तिनीहरूले त्यसै गरे, र उनीहरू सबैलाई बसाए। तब उहाँले पाँचओटा रोटी र दुईटा माछा लिनुभयो, र माथि स्वर्गतिर हेर्दै उहाँले तिनलाई आशिष दिनुभयो, भाँच्नुभयो, अनि भीडका सामु राखिदिनलाई चेलाहरूलाई दिनुभयो। अनि उनीहरूले खाए, र सबै तृप्त भए; अनि तिनीहरूका निम्ति उब्रेका टुक्राहरू बाह्र डाला उठाइए”(लूका ९:१२-१७)।

येशू सामर्थी सृष्टिकर्ता, परमेश्वरको पुत्र हुनुभएको हुनाले उहाँले यस्ता ठूला-ठूला आश्चर्यकर्महरू गर्नसक्नुभयो।

येशूले आफ्ना आश्चर्यकर्महरू इस्राएलको उत्तर तर्फको गालीलको समुद्र नजिकमा गर्नुभयो।

६.      येशूले महान् शिक्षाहरू प्रचार गर्नुभयो।

तीन वर्षसम्म, येशूले मानिसहरूलाई सिकाउनुभयो। कहिलेकाहिँ सुन्ने मानिसहरू हजारौंको सङ्ख्यामा हुँदथे। उहाँका सामर्थी प्रचारहरू निकै लामो दुरीसम्म फैलिन्थ्यो। बेलाबखत उहाँले पहाडहरू तिर प्रचार गर्नुहुन्थ्यो।  तल उल्लेखित वाक्यांशहरू येशूले सिकाउनुभएको प्रचारबाट हो जसलाई “पहाडी उपदेश” पनि भनिन्छ। उहाँले प्रचार गर्नुभएको ठाउँमा असङ्ख्य मानिसहरूले सुन्न सकून् भनेर एक प्रकारको प्राकृतीक रङ्गमञ्च झैं स्थल हुन्थ्यो।

“तिमीहरूले सुनेका छौ, यो भनिएको छ, “तिमीले आफ्नो छिमेकीलाई प्रेम गर, र आफ्नो शत्रुलाई घृणा गर।” तर मा तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशीर्वाद देओ, तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर, अनि तिमीहरूको बदनामी गर्ने र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर; र तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका सन्तान हुनेछौ; किनभने उहाँले दुष्ट र असल दवैमाथि आफ्नो सुर्य उदय गराउनुहुन्छ, अनि धर्मी र अधर्मी दुवैमाथि झरी बर्साउनुहुन्छ।” (येशू ख्रीष्ट, मत्ती ५:४३-४५)।

येशूको शिक्षा सुनेर मानिसहरू छक्कै पर्दथे। एकजना अफिसरले यसो भने, “यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेको छैन” (यूहन्ना ७:४६)।

बाइबलमा तपाईंले येशूका अझै धेरै शब्दहरू अध्ययन गर्न सक्नुहुनेछ।

७.      येशूले मानिसहरूलाई प्रेम गर्नुभयो।

परमेश्वरको पुत्र मानिसहरूप्रती भएको उहाँको प्रेमको कारणले नै संसारमा आउनुभयो, र उहाँले दिनहुँ आफ्नो प्रेम प्रकट गर्नुभयो। उहाँ प्रेमले भरिनुभएको र धैर्यवान् हुनुहुन्थ्यो। उहाँले मानिसहरूलाई मुक्तिको विषयमा सिकाउनुभयो। उहाँले मानिसहरूलाई उनीहरूको रोगहरूबाट निको पार्नुभयो र उनीहरूलाई दुष्टात्माहरूबाट छुटकारा दिनुभयो। येशू ख्रीष्ट जहाँ-जहाँ जानुहुन्थ्यो, उहाँले मानिसहरूलाई सहायता गर्नुभयो।

येशू पक्षपाती हुनुहुँदैनथियो। उहाँले केही मानिसहरूलाई मात्र प्रेम गर्नुभएन। उहाँले सबै जाति र सबै रङ्गका मानिसहरूलाई प्रेम गर्नुभयो। इनारमा भएको स्त्रीको बारेमा बिचार गर्नुहोस्। जब येशू सामरीयाको इलाका भएर यात्रा गर्दैहुनुहुन्थ्यो, उहाँ एउटा इनारको नजीक रोकिनुभयो र एउटी स्थानीय स्त्रीसँग वातचीत गर्नुभयो। त्यस बेला, यहूदीहरूले सामरीयाका मानिसहरूसँग कुनै सम्बन्ध राख्दैनथिए, त्यसैकारण एउटा  यहूदी मानिस आफूसित बोल्न आएको हुँदा त्यो स्त्री छक्क परिन्, तर येशूले कसैको पक्षपात गर्नुभएन। यस स्त्रीको जीवनबारे येशूले सबै कुराहरू जान्नुहुन्थ्यो। तिनका पाँचओटा पतीहरू थिए र त्यसबेला तिनी जोसँग तिनी बसिरहेकी थिइन् त्यो तिनको पती नै थिएन भन्ने कुरा पनि उहाँ जान्नुहुन्थ्यो। तिनी एउटी पापी थिइन्, तर येशूले तिनलाई प्रेम गर्नुभयो, र तिनलाई अनन्त जीवनको प्रस्ताव दिनुभयो।

“तब उहाँ याकूबले आफ्नो छोरा यूसुफलाई दिएको जमिनको छेवैमा, सुखार भनिने सामरियाको शहरमा आउनुभयो। अब याकूबको इनार त्यहाँ थियो। यसकारण येशू यात्राले गर्दा थकित भएर त्यस इनारमा बस्नुभयो, समय प्राय: ६ बजे भएको थियो। सामरियाकी एउटी स्त्री पानी भर्न आई; येशूले उसलाई भन्नुभयो: “मलाई पानी पिउन देऊ।” किनकि उहाँका चेलाहरूचाहिँ शहरमा खानेकुरा किन्न गइसकेका थिए। तब सामरियाकी त्यस स्त्रीले उहाँलाई भनी: “तपाईं यहूदी भएर पनि म एउटी सामरी स्त्रीबाट कसरी पानी पिउन माग्नुहुन्छ?” किनभने यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्। येशूले जवाफ दिएर उसलाई भन्नुभयो: “यदि तिमीले परमेश्वरको दानलाई जानेकी भए, र ‘मलाई पानी पिउन देऊ; भनी तिमीलाई भन्ने को हो, चिनेकी भए तिमीले पो उनीसित माग्नेथियौ, र उनले तिमीलाई जिउँदो पानी दिनेथिए।” त्यस स्त्रीले उहाँलाई भनी: “हजुर, तपाईंसँग उघाउने केही चीज छैन, र इनारचाहिँ गहिरो छ; तब तपाईंले कहाँबाट त्यो जिउँदो पानी पाउनुहुन्छ? के तपाईं हाम्रा पुर्खा याकूबभन्दा ठूलो हुनुहुन्छ, जसले हामीलाई यो इनार दिनुभयो, अनि उहाँ आफैले यसबाट पिउनुभयो, र उहाँका सन्तानहरू र उहाँका गाईबस्तुले पनि पिए?” येशूले जवाफ दिएर उसलाई भन्नुभयो: “यस पानीबाट पिउने हरेक फेरि तिर्खाउनेछ; तर जसले त्यो पानीबाट पिउला, जो म उसलाई दिनेछु, ऊ कहिल्यै तिर्खाउनेछैन; तर जुन पानी म उसलाई दिनेछु, त्यो ऊभित्र अनन्त जीवनका निम्ति उम्रिरहने पानीको मुहान बन्नेछ।” त्यस स्त्रीले उहाँलाई भनी: “हजुर, मलाई यही पानी दिनुहोस्, र म नतिर्खाऊँ न ता यहाँ पानी भर्न आऊँ।” येशूले उसलाई भन्नुभयो: “जाऊ, आफ्ना पतिलाई बोलाऊ, र यहाँ आऊ।” त्यस स्त्रीले जवाफ दिएर भनी: “मेरा पति छैनन्।” येशूले उसलाई भन्नुभयो: “मेरा पति छैनन् भनेर तिमीले ठीक भन्यौ; किनभने पतिहरू ता तिम्रा पाँचजना भइसकेका छन्, अनि जो अहिले तिमीसँग छन्, तिनी तिम्रा पति होइनन्; तिमीले यो साँचो भनेकी छौ।” त्यस स्त्रीले उहाँलाई भनी: “हजुर, तपाईं भविष्यवक्ता हुनुहुन्छ भनी म थाह पाउँछु।……त्यस स्त्रीले उहाँलाई भनी: “मलाई थाह छ, ‘मसीह आउनुहुन्छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ।” येशूले उसलाई भन्नुभयो: तिमीसित बोल्ने, म उही हुँ” (यूहन्ना ४:५-१९, २५-२६)।

“तब त्यस स्त्रीले आफ्नो पानीको गाग्रो छोडी, शहरभित्र गई, र मानिसहरूलाई भनी: “आओ, एकजना मानिसलाई हेर, जसले मैले जे-जे गरें, ती सबै कुराहरू मलाई बताउनुभयो; के उहाँ नै ख्रीष्ट हुनुहुन्न र?”…. यसकारण जब ती मानिसहरू उहाँकहाँ आइ, तिनीहरूले ‘हामीसँग रहनुहोस्’ भनी विन्ती गरे; अनि उहाँ दुई दिनसम्म त्यहाँ रहनुभयो। अनि उहाँका आफ्नै वचनको कारणले अझै धेरैले विश्वास गरे। अनि त्यस स्त्रीलाई भने: “अब उसो हामी तिम्रो भनाइकै कारणले मात्र विश्वास गर्दैनौं, किनकि हामी आफैले सुनेका छौं, र जान्दछौं, उहाँ साँच्चै संसारका मुक्तिदाता ‘ख्रीष्ट’ हुनुहुन्छ”” (यूहन्ना ४:२८-२९, ४०-४२)।

यस स्त्रीले येशूलाई प्रभु र मुक्तिदाताको रूपमा विश्वास गरीन्। तिनले उहाँको बारेमा शहरभित्रका मानिसहरूलाई बताइन् र उनीहरूले पनि विश्वास गरे।

येशूले मुक्तिलाई “जिउँदो पानी” भन्नुभयो। मुक्ति दुई प्रकारले पानी जस्तै छ। पहिलो, जसरी भौतिक जीवनको निम्ति पानीको खाँचो पर्छ, मुक्ति पनि आत्मिक र सदा रहिरहने जीवनको निम्ति खाचो पर्छ। दोश्रो, जसरी सामरीयाको इनारबाट पानी सित्तैंमा पाइन्थ्यो, मुक्ति पनि परमेश्वरले सित्तैंमा दिनुहुने दान हो। त्यो इनार खन्न कुनै मानिसले कडा परिश्रम गरेको हुनाले, अन्य मानिसहरूले पानी निकाल्न सक्छन् र सित्तैंमा पिउन सक्छन्। त्यसैगरी, परमेश्वरले क्रूसमाथि आफ्नो मृत्युद्वारा मुक्तिको दाम तिरिदिनुभयो, र पापीहरूले मुक्तिलाई कुनै दान जस्तै गरी सित्तैंमा पाउन सक्छन्।

पुनरावलोकन प्रश्नहरू, येशू – भाग १

१.      येशू कहिले जन्मनुभयो?

२.      त्यो उहाँको शुरुवात किन होइन?

३.      आदमबाटको पापी स्वभाव आफूमा हुनबाट येशू कसरी अलग रहनुभयो?

४.      येशू बालक हुनुहुँदा कतिओटा झूटहरू बोल्नुभयो?

५.      यहूदी कुन राष्ट्रको मानिस हो?

६.      येशू कुन गाउँमा जन्मनुभएको हो?

७.      येशू कहाँ हुर्कनुभयो?

८.      आफ्नो सार्वजनिक सेवकाई सुरु गर्नुहुँदा येशू कति वर्षको हुनुहुन्थ्यो?

९.      येशूले कति प्रकारको रोगहरू निको पार्नसक्नुहुन्थ्यो?

१०.  तपाईंको विचारमा, येशूले गर्नुभएको सबैभन्दा ठूलो आश्चर्यकर्म कुन हो?

११.  येशूले कसरी त्यस्ता आश्चर्यकर्महरू गर्न सक्नुभयो?

१२.  येशू आफूसित बोल्नुहुँदा सामरी स्त्री किन छक्क परी?

१३.  यस स्त्रीको जीवनबारे येशूले कसरी जान्नुहुन्थ्यो?

१४.  कुन दुई तरिकामा पानी मुक्ति जस्तै छ?

 

 

येशू-भाग २

कण्ठ गर्नुपर्ने पद: “यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यौ भने, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बोराएर उठाउनुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिमीले मुक्ति पाउनेछौ” (रोमी १०:९)।

अघिल्लो पाठमा, येशूको बारेमा हामीले ६ ओटा कुराहरू सिक्यौं। उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ; उहाँ कन्या स्त्रीद्वारा जन्मनुभयो; उहाँ पापरहित हुनुहुन्छ; उहाँ यहूदी हुनुहुन्थ्यो; उहाँले ठूला-ठूला आश्चर्यकर्महरू गर्नुभयो; उहाँला महान् शिक्षाहरू प्रचार गर्नुभयो; र उहाँले मानिसहरूलाई प्रेम गर्नुभयो। यस पाठमा, येशूको बारेमा अझै ४ ओटा कुराहरू हामी अध्ययन् गर्नेछौं।

८.      मानिसहरूको पापको निम्ति येशू क्रूसमा मर्नुभयो।

येशूले तीन वर्षसम्म आश्चर्यकर्महरू र प्रचारहरू गर्नुभयो, यहूदी धर्मगुरू उहाँप्रति क्रोधित थिए। मानिसहरू माझ उहाँ प्रख्यात हुनुभएकोले तिनीहरू डाहले भरिए। तिनीहरूले येशूलाई मार्ने षड्यन्त्र रचे। तिनीहरूले उहाँको विरुद्धमा झूटा आलोचनाहरू लगाए र उहाँको बारेमा झूटा गवाही दिन दुष्ट मानिसहरूलाई किने।

ती दिनहरूमा, करिब २,००० वर्ष अगाडी, इस्राएल रोमी सम्राज्यको एउटा हिस्सा थियो। इटालीमा भएको रोम शहर सम्पूर्ण सम्राज्यको राजधानी थियो, र रोमी सम्राट त्यहीँ बस्दथे र सम्पूर्ण सम्राज्यभरी राज्य गर्दथे। सम्राज्यको हरेक हिस्सामा सम्राटको नेतृत्व गर्नाका निम्ति रोमी राज्यपालहरू हुन्थे। पोन्तियस पिलातस इस्राएलका रोमी राज्यपाल थिए। यहूदी अगुवाहरूले येशूलाई पिलातसकहाँ ल्याए र येशूलाई मृत्युदण्ड दिने माग गरे, र पिलातस सहमत भए।

यद्दपी पहिले, पिलातसले यहूदी अगुवाहरूलाई उनले येशूको जाँच गरेको र उहाँमा केही पनि दोष नपाएको कुरा बताएका थिए। येशूमा कुनै गल्ती थिएन र उहाँले कुनै पनि नियमहरू उल्लंघन गर्नुभएको थिएन भन्ने कुरा उनी जान्दथे। पिलातसले येशूलाई मृत्युदण्ड दिनुको कारण यही थियो कि उनी रोमी सम्राटसँग डराउँथे र उनको इलाकामा कुनै तनाव नहोस् भन्ने चाहन्थे।

“तब पिलातसले येशूलाई लगे र कोर्रा लगाए। अनि सिपाहीहरूले काँडाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी वस्त्र पहिराइदिए, र भने: “सलाम, यहूदीहरूको राजा!” अनि तिनीहरूले उहाँलाई थप्पड लगाए। यसकारण पिलातस फेरि बाहिर गए, र तिनीहरूलाई भने: “हेर, मचाहिँ उसमा केही पनि दोष पाउँदिनँ भन्ने कुरा तिमीहरूलाई थाह होस् भनेर म उसलाई बाहिर तिमीहरूकहाँ ल्याउँछु।” तब येशू काँडाहरूको मुकुट र बैजनी वस्त्र पहिरेर बाहिर निस्कनुभयो। अनि पिलातसले तिनीहरूलाई भने: “हेर यो मानिस!” यसकारण जब मुख्य पूजाहारी र आफिसरहरूले उहाँलाई देखे, तब तिनीहरू यसो भन्दै कराए: “त्यसलाई क्रूसमा टाँग्नुहोस्! त्यसलाई क्रूसमा टाँग्नुहोस्!!” पिलातसले तिनीहरूलाई भने: तिमीहरूले नै उसलाई लगेर क्रूसमा टाँग, किनकि मचाहिँ उसमा केही दोष पाउँदिनँ”(यूहन्ना १९:१-६)।

“अनि योचाहिँ निस्तारचाडको तयारीको दिन थियो, अनि समय प्राय: ६ बजे भएको थियो; अनि उनले यहूदीहरूलाई भने: “हेर तिमीहरूका राजा!” तर तिनीहरू चिच्च्याए: “हटाउनुहोस्! हटाउनुहोस्! त्यसलाई क्रूसमा टाँग्नुहोस्!!” पिलातसले तिनीहरूलाई भने: “के तिमीहरूका राजालाई म क्रूसमा टाँगुँ?” मुख्य पुजाहारीहरूले जवाफ दिए: “सिजरबाहेक हाम्रो अरू राजा नै छैन। तब क्रूसमा टँगाइनका निम्ति उनले उहाँलाई तिनीहरूको हातमा सुम्पिदिए। अनि तिनीहरूले येशूलाई पक्रे, र उहाँलाई लिएर गए। अनि उहाँ आफ्नो क्रूस बोकेर ‘खोपडी’ भनिने ठाउँतिर जानुभयो, जसलाई हिब्रू भाषामा ‘गलगथा’ भनिन्छ, जहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, अनि उहाँको साथमा अरू दुईजनालाई पनि, एउटालाई यतापट्टि, अर्कालाई उतापट्टि, र माझमा येशूलाई”(यूहन्ना १९:१४-१८)।

येशू क्रूसमा मर्नुभयो। रोमी सिपाहीहरूले उहाँका हात र खुट्टाहरू काठको क्रूसमा किल्लाले ठोके। उहाँलाई बिहान करिब ९ बजे क्रूसमा टाँगियो। थुप्रै मानिसहरू छेउमा खडा भए र उहाँको गिल्ला गरे। सिपाहीहरूले उहाँको वस्त्रको निम्ति चिठ्ठा हाले। उहाँका केही चेलाहरू त्यहीँ रोइरहेका थिए। केही घण्टा पछि येशूले आफ्नो आत्मा सुम्पिदिनुभयो।

“त्यसपछि, अब सबै कुरा पूरा भइसके भनी जानेर पवित्रशास्त्र पूरा होस् भनी येशूले भन्नुभयो: “मलाई तिर्खा लाग्यो!” अब सिर्काले भरिएको एउटा भाँडा त्यहीं राखिएको थियो; अनि तिनीहरूले एउटा स्पन्जलाई सिर्काले भरे, र त्यसलाई एउटा हिसपमा राखेर उहाँको मुखमा पुर्याए। यसकारण जब येशूले सिर्का लिनुभयो, तब उहाँले भन्नुभयो: “पूरा भयो!” अनि उहाँले आफ्नो शिर झुकाएर आफ्नो आत्मा सुम्पिदिनुभयो”(यूहन्ना १९:२८-३०)।

येशूले आफू कुन समयमा मर्ने हो भन्ने निर्णय गर्नुभएको कुरालाई बिचार गर्नुहोस्। उहाँले मानिसको पापको निम्ति क्रूसमा दु:ख भोग्नुभएर आफ्नो रगत बहाउनुभएपछि, उहाँले आफ्नो शिर झुकाउनुभयो र प्राण त्याग्नुभयो। अरू मानिसहरूले यस्तो गर्न सक्दैनन्। येशू परमेश्वरको पुत्र हुनु भएको हुनाले त्यस्तो गर्न सक्नुभयो।

येशूको मृत्यु केवल कुनै अप्रत्याशित घटना थिएन। संसार सृष्टि हुनुभन्दा पनि अगाडी देखि नै परमेश्वरले यो योजना बनाउनुभएको थियो। क्रूसमा येशूको मृत्यु भनेको मानवजातिको मुक्तिको निम्ति परमेश्वरको स्नेही योजना थियो।

परमेश्वरको व्यवस्थाले पापीहरू मारिनैपर्छ भन्ने माग गर्दछ। तिनीहरू मर्नैपर्छ। बाइबलमा लेखिएको छ: “पापको ज्याला मृत्यु हो”। यो मृत्यु दुई प्रकारको छ। पहिलो, त्यहाँ शारिरीक मृत्यु छ। त्यसपछि, त्यहाँ दोश्रो मृत्यु छ, जुन चाहिँ आगोको झीलमा पाइने अनन्त दण्ड हो।

परमेश्वर पापीहरूलाई प्रेम गर्नुहुन्छ र उनीहरूलाई मुक्ति दिन चाहनुहुन्छ, तर उहाँले आफ्नै व्यवस्था तोड्न सक्नुहुँदैन। त्यसैले परमेश्वरले आफ्नै पुत्रलाई दु:ख भोग्न र पापीहरूको सट्टामा मर्नको निम्ति पठाउनुभयो। अनि परमेश्वरको व्यवस्था पूरा भयो, र अब उसो पापीहरूले दण्डबाट छुटकारा पाउन सक्छन्।

“किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो” (रोमी ६:२३)।

९.      येशू मरेकाहरूबाट बौरिउठ्नुभयो।

चेलाहरूले येशूको शरीर क्रूसबाट लिएर गए र चिहानमा राखे। यो चाहिँ कुनै ढुङ्गेनी डाँडाको छेऊमा खोपिएको गुफा जस्तै थियो। चिहानको प्रवेशद्वारमा एउटा विशाल गोलाकार ढुङ्गा राखिएको थियो र येशूको शरीर कसैले पनि नचोरोस् भन्ने हेतुले सुरक्षाकर्मीहरू खटाइएको थियो।

तीन दिन पछि, येशू मरेकाहरूबाट सह-शरीर बौरिउठ्नुभयो। सुरक्षाकर्मीहरू डराए र भागे। चिहान् रित्तो थियो, र येशू उहाँका चेलाहरूकहाँ देखा पर्नुभयो।

येशूको बौरिउठाइ नै उहाँले भन्नुभए झैं उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुराको प्रमाण थियो। मरेकाहरूबाट बौरिउठ्ने बारे उहाँले प्रतिज्ञा गर्नुभएको थियो।

“अनि मानिसका पुत्रलाई धेरै दु:ख भोग्नु, बूढा प्रधानहरू, मुख्य पुजाहारीहरू र शास्त्रीहरूद्वारा रद्द गरिनु, मारिनु, र तीन दिनपछि बौरेर उठ्नु आवश्यक छ भनी उहाँले तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो”(मर्कूस ८:३१)।

उहाँ बौरिउठ्नुभएपछि, येशू आफ्ना चेलाहरूकहाँ देखा पर्दै र उनीहरूलाई सिकाउँदै ४० दिनसम्म रहनुभयो। उहाँ उनीहरूद्वारा देखिनुभएको थियो। उहाँ केवल आत्मा मात्र हुनुहुन्न भन्ने प्रमाण दिन उहाँले माछा खानुभयो र उनीहरूलाई आफूलाई छुन दिनुभयो।

“उहाँले दु:ख भोगिसक्नुभएपछि चालीस दिनसम्म तिनीहरूद्वारा देखिनुहुँदै र परमेश्वरको राज्यको विषयमा कुराहरू बताउनुहुँदै अनेकौं अचूक प्रमाणहरूद्वारा उहाँले आफूलाई तिनीहरूकहाँ जीवित देखाउनुभयो” (प्रेरित १:३)।

“अनि तिनीहरूले यसरी बात गर्दै गर्दा येशू आफै तिनीहरूको बीचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो: ‘तिमीहरूलाई शान्ति होओस्!’ तर तिनीहरू आतङ्कित भए र डराए, अनि हामीले भूत देखेका हौं भनी सम्झे। अनि उहाँले तिनीहरूलाई भन्नुभयो: ‘तिमीहरू किन आत्तिन्छौ? र तिमीहरूका हृदयहरूमा किन विचारहरू उठ्दछन्? मेरा हात र मेरा पाउ हेर, म नै हुँ; मलाई समाओ, र हेर; किनकि भूतका मासु र हड्डीहरू हुँदैनन्, जस्तो मसँग भएको तिमीहरू देख्दछौ।’ अनि यसरी भनिसक्नुभएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र पाउहरू देखाउनुभयो। अनि जब आनन्दको कारणले तिनीहरूले अझै विश्वास गरेनन्, र छक्क परिरहे, तब उहाँले तिनीहरूलाई भन्नुभयो: ‘के यहाँ तिमीहरूसँग केही खानेकुरा छ?’ अनि तिनीहरूले उहाँलाई सेकाइएको माछाको एक टुक्रा र मौरीको चाकाबाट केही दिए। अनि उहाँले लिनुभयो, र तिनीहरूकै सामु खानुभयो”(लूका २४:३६-४३)।

उहाँको बौरिउठाइपछि एउटा अवसरमा, येशू एकैचोटि ५०० जना भन्दा बेसी चेलाहरूद्वारा देखिनुभयो।

“किनकि सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यही कुरा सुम्पिदिएँ, जुन कुरा मैले पनि पाएको थिएँ; अर्थात् पवित्र-शास्त्रहरूमुताबिक ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो, र गाडिनुभयो, अनि पवित्र-शास्त्रहरूमुताबिक उहाँ तेस्रो दिनमा बौराइनुभयो; अनि उहाँ केफासकहाँ, त्यसपछि बाह्रजनाकहाँ देखा पर्नुभयो; त्यसपछि उहाँ एकैचोटि पाँच सयभन्दा बेसी भाइहरूकहाँ देखा पर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदै छन्, तर कतिचाहिँ सुतिसके” (१ कोरिन्थी १५:३-६)।

उहाँको नामको निम्ति दु:ख भोग्न र मर्न पनि तयार भएको तथ्यले उनीहरूले साँच्चै उहाँको बौरिउठाइलाई देखेको र सो को बारेमा झूट नबोलेको प्रमाण दिन्छ। यदि येशू मरेकाहरूबाट बौरिउठ्नु नभएको भए, उहाँ परमेश्वरको पुत्र हुनुहुन्न रहेछ भनी उनीहरूले जान्नेथिए। त्यस अवस्थामा, उहाँको नामको दाबी गर्न उनीहरूले बन्द गर्नेथिए। तर उनीहरू ता येशूको बौरिउठाइपछि येशू प्रचार गर्न झन् बढी साहसी भए, त्यसैले उनीहरूले येशूलाई देखेकै हुन् भन्ने कुरा वास्तवीक हो।

येशूको बौरिउठाइले उहाँ आज जीवित हुनुहुन्छ भन्ने बुझिन्छ। उहाँकहाँ आउने पापीहरूलाई उहाँले स्वीकार गर्नुहुन्छ। यदि तपाईंले उहाँलाई खोज्नुभयो भने, उहाँले आफैलाई तपाईंको सामु प्रमाणित गर्नुहुनेछ।

१०.  उहाँलाई आफ्नो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नेहरूलाई येशूले अनन्त जीवनको प्रतिज्ञा दिनुहुन्छ।

उहाँको बौरिठाइपछि, येशूले आफ्ना चेलाहरूलाई सारा संसारमा जान र हरेक मानिसहरूलाई सुसमाचार प्रचार गर्न आज्ञा दिनुभयो।

“अनि उहाँले तिनीहरूलाई भन्नुभयो: सारा संसारमा जाओ, र हरेक प्राणीलाई सुसमाचार प्रचार गर! जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ, उसले मुक्ति पाउनेछ; तर जसले विश्वास गर्दैन, त्यो दोषी ठहरिनेछ”(येशू ख्रीष्ट मर्कूस १६:१५-१६)।

“तर पवित्र आत्मा आउनुभएपछि तिमीहरूले सामर्थ्य पाउनेछौ; र यरूशलेममा, सारा यहूदिया र सामरियामा, अनि पृथ्वीको छेउसम्म तिमीहरू मेरा निम्ति साक्षी हुनेछौ”(येशू ख्रीष्ट, प्रेरित १:८)।

येशू क्रूसमा मर्दिनुभएको हुनाले, मुक्ति सबै मानिसहरूको निम्ति उपलब्ध छ। उनीहरू जसले आफू पापीहरू भएको स्वीकार गर्छन् र आफ्नो झूटो धर्महरूबाट फर्कन्छन् र येशूलाई प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्दछन् तिनीहरूले अनन्त जीवनको दान पाउनेछन्।

“यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यौ भने, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिमीले मुक्ति पाउनेछौ। किनकि धार्मिकताका निम्ति हृदयले विश्वास गरिन्छ, र मुक्तिका निम्ति मुखले स्वीकार गरिन्छ। किनकि पवित्रशास्त्रले भन्दछ: ‘उहाँमाथि विश्वास गर्ने हरेक शर्ममा पर्नेछैन।’ किनकि यहूदी र ग्रीकमा कुनै भिन्नता छैन; किनकि उहाँ, जो सबका प्रभु हुनुहुन्छ, आफूलाई पुकार्नेहरूका निम्ति धनवान् हुनुहुन्छ। किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ” (रोमी १०:९-१३)।

११.  येशू आफ्नो राज्य स्थापीत गर्न फर्की आउनुहुनेछ।

आफ्ना चेलाहरूलाई ४० दिनसम्म सिकाउनुभएपछि, येशू स्वर्ग फर्किनुभयो। उहाँले आफू फेरी फर्केर आउने र आफ्नो राज्य स्थापीत गर्ने प्रतिज्ञा दिनुभएको छ।

“यसकारण जब तिनीहरू भेला भए, तब तिनीहरूले उहाँलाई यसो भन्दै सोधे: “हे प्रभु, के तपाईंले यही समयमा इस्राएललाई राज्य फिर्ता गराइदिनुहुन्छ?” अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “पिताले आफ्नै अधिकारमा राख्नुभएका समयहरू वा घडीहरूको विषयमा जान्ने काम तिमीहरूको होइन। तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले सामर्थ्य पाउनेछौ; र यरूशलेममा, सारा यहूदिया र सामरियामा, अनि पृथ्वीको छेउसम्म तिमीहरू मेरा निम्ति साक्षी हुनेछौ।” अनि उहाँले यी कुराहरू भनिसक्नुभएपछि तिनीहरूले हेर्दा-हेर्दै उहाँ माथि उठाइनुभयो; र बादलले उहाँलाई तिनीहरूको दृष्टिबाट ढाकिदियो। अनि उहाँ माथि जाँदै गर्नुहुँदा तिनीहरू आकाशतिर एक डिठ लगाएर हेरिरहेका थिए, तब हेर, दुईजना सेतो वस्त्र लगाएका मानिसहरू तिनीहरूको बगलमा खडा भए; अनि उनीहरूले भने: हे गालीलका मानिसहरूहो, तिमीहरू किन आकाशतिर हेर्दै उभिँदछौ? तिमीहरूको बीचबाट स्वर्गमा उठाइनुहुने यही येशू नै यही प्रकारले आउनुहुनेछ, जसरी उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको तिमीहरूले देख्यौ” (प्रेरित १:६-११)।

जब येशू फर्की आउनुहुनेछ, उहाँले विश्वास नगर्नेहरूको इन्साफ गर्नुहुनेछ र पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुहुनेछ।

येशू कसैले नसोचेक बेलामा आउनुहुनेछ भनी उहाँले आफ्नो चेलाहरूलाई सिकाउनुभयो, त्यसैले उनीहरू हरेक समय तयार बस्नुपर्थ्यो।

“अनि तब आकासमा मानिसका पुत्रको चिन्ह देखा पर्नेछ; तब पृथ्वीका सबै कुलहरूले विलाप गर्नेछन्, अनि तिनीहरूले मानिसका पुत्रलाई बडो सामर्थ्य र महिमासहित आकाशका बादलहरूमा आइरहेका देख्नेछन्। अनि उनले आफ्ना दूतहरूलाई तुरहीको ठूलो आवाजको साथमा पठाउनेछन्, र तिनीहरूले चारै दिशाबाट – आकाशको एक छेउदेखि अर्को छेउसम्म – उनका चुनिएकाहरूलाई जम्मा गर्नेछन्” (येशू ख्रीष्ट, मत्ती २४:३०-३१)।

“तर जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन्, र सबै पवित्र दूतहरू पनि उनको साथमा आउनेछन्, तब उनी आफ्नो महिमाको सिंहासनमा बस्नेछन्। अनि सबै जातिहरू उनका सामु भेला गरिनेछन्; अनि जसरी गोठालाले आफ्ना भेडा बाख्राहरूबाट अलग पार्दछ, त्यसरी नै उनले तिनीहरूलाई एउटालाई अर्कोदेखि अलग पार्नेछन्।” (येशू ख्रीष्ट, मत्ती २५:३१-३२)।

“तर त्यस दिन र त्यस घडीको विषयमा कसैले जान्दैन, अहँ, स्वर्गका दूतहरूले पनि जान्दैनन्, तर मेरा पिताले मात्र। तर नूहका दिनहरू जस्ता थिए, त्यस्तै मानिसका पुत्रको आगमन पनि हुनेछ। किनकि जसरी जलप्रलय हुनुभन्दा अघिका दिनहरूमा, नूह जहाजमा पसेका दिनसम्म, तिनीहरूले खाइरहेका र पिरहेका थीए; विवाह गरिरहेका र विवाह गरिदिरहेका थिए, अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नलगुन्जेल तिनीहरूलाई केही थाह भएन; त्यसरी नै मानिसका पुत्रको आगमन पनि हुनेछ।……यसकारण तिमीहरू पनि तयार बस; किनभने मानिसका पुत्र तिमीहरूले सोच्दै नसोचेको घडीमा आउँछन्” (येशू ख्रीष्ट, मत्ती २४:३६-३९, ४४)।

“र तिमी दु:ख भोग्नेहरूलाई चाहिँ हाम्रो साथमा विश्राम दिनु परमेश्वरका निम्ति धर्मसङ्गत कुरा हो; त्यस समयमा, जब प्रभु येशू स्वर्गबाट आफ्ना सामर्थी दूतहरूका साथमा दन्किरहेको आगोमा प्रकट हुनुहुनेछ, र परमेश्वरलाई नचिन्नेहरू र हाम्रा प्रभु येशू ख्रीष्टको सुसमाचार पालन नगर्नेहरूलाई बदला दिनुहुनेछ; तिनीहरूले प्रभुको उपस्थितिबाट र उहाँको सामर्थ्यको महिमाबाट अनन्त विनाशको दण्ड पाउनेछन्; यो त्यस दिन हुनेछ, जब उहाँ आफ्ना पवित्र जनहरूमा महिमा पाउनाका निम्ति र सबै विश्वास गर्नेहरूमा अचम्म मानिनाका निम्ति आउनुहुनेछ; किनभने तिमीहरूको मध्यमा हाम्रो गवाही विश्वास गरियो” (२ थेस्सलोनिकी १:७-१०)।

मित्रहरू, के तपाईं येशूको पुनरागमनको निम्ति तयार हुनुहुन्छ? उहाँ तपाईंलाई प्रेम गर्नुहुन्छ र निकै ढिलो हुनुभन्दा पहिल्यै तपाईंलाई बचाउन चाहनुहुन्छ। के तपाईंले येशूलाई तपाईंको प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्नुभयो? यदि तपाईंले उहाँलाई खोज्नुभयो भने, उहाँले आफैलाई तपाईंको सामु प्रमाणित गर्नुहुनेछ।

 

पुनरावलोकन प्रश्नहरू, येशू – भाग २

१.      येशूको सार्वजनिक सेवकाइको समय कति लामो थियो?

२.      धार्मिक अगुवाहरू येशूलाई किन मार्न चाहन्थे?

३.      येशूलाई मृत्युदण्ड दिने रोमी राज्यपालको नाम के थियो?

४.      येशूलाई कुन तरिकाले मृत्युदण्ड दिइयो?

५.      के तपाईंले येशूले जस्तै आफ्नो आत्मा आफैले निर्णय गरेर सुम्पिन सक्नुहुन्छ?

६.      परमेश्वरको व्यवस्था अनुसार, पापको ज्याला के हो?

७.      येशूमा विश्वास गर्ने पापीहरूको निम्ति परमेश्वरको दान के हो?

८.      येशू मर्नुभएको कति दिनपछि, उहाँ बौरिउठ्नुभयो?

९.      येशू मरेकाहरूबाट बौरिउठ्नुभएको प्रमाण के हो?

१०.  एउटा अवसरमा, येशू एकैचोटि कति जना भन्दा बेसी चेलाहरूद्वारा देखिनुभयो?

११.  कुन तथ्यले उहाँको बौरिउठाइपछि येशू चेलाहरूकहाँ देखा पर्नुभकै हो भन्ने प्रमाणित गर्छ?

१२.  मुक्ति पाउन एउटा पापीले के गर्नुपर्छ?

१३.  उहाँको बौरिउठाइपछि, येशूले चेलाहरूलाई के आज्ञा दिनुभयो?

१४.  येशू कहिले फर्कि आउँदै हुनुहुन्छ?

१५.  येशू फर्किनुभएपछि, उहाँले के गर्नुहुनेछ?

 

पाप

कण्ठ गर्नुपर्ने पद: “किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो” (रोमी ६:२३)।

यो पाठमा पापको सम्बन्धमा बाइबलले सिकाउने शिक्षा अध्ययन गर्नेछौं।

१.      मानिसहरू कहिले र कसरी पापी बने?

जसरी हामीहरूले यी पाठहरूमा अध्ययन गरेका थियौं, मानिसहरू परमेश्वरले उनीहरूलाई सृष्टि गर्नुभएपछि पापी बने। पहिलो पुरूष र स्त्री, अर्थात आदम र हव्वा, अदन भनीने एउटा सुन्दर वगैँचामा राखिएका थिए र उनीहरूको आनन्दका निम्ति त्यहाँ हरेक थोकहरू थिए। तर परमेश्वरले उनीहरूलाई एउटा आज्ञा दिनुभयो। असल र खराबको ज्ञान दिने रुखको फल खान उनीहरूलाई मनाही गरियो। जब उनीहरूले आज्ञा भङ्ग गरे, तब उनीहरू पापीहरू बने। उनीहरूको हृदयहरू पापले भरिए। त्यस समय अघि, उनीहरूको हृदयहरूमा केवल ज्योती र असलपन मात्र थियो, तर अब उनीहरूको हृदय अन्धकार र दुष्टताले भरियो।

आदम र हव्वाको पाप सम्पूर्ण मानवजातीमा पस्यो। त्यस समय देखि यस संसारमा जन्म लिएका हरेक साना नानीहरू पापपूर्ण हृदय लिएर जन्मिएका छन्। यस कुराको प्रमाण यस संसारमा जहिँतहिँ देख्न सकिन्छ।

“हृदय ता सबै कुराहरूभन्दा बढी छली हुन्छ, र त्यो असाध्य दुष्ट हुन्छ; कसले त्यो जान्न सक्छ र?” (यर्मिया १७:९)।

“तर ती कुराहरू, जो मुखबाट बाहिर निस्कन्छन्, हृदयबाट निस्केर आउँछन्, र तिनले मानिसलाई असुद्ध पार्छन्। किनभने हृदयबाट नै खराब बिचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटा साक्षी, निन्दाहरू निस्कन्छन्” (येशू ख्रीष्ट, मत्ती १५:१८-१९)।

२.      पाप के हो?

पाप भनेको परमेश्वरको आज्ञाहरू तोड्नु हो। यसको अर्थ परमेश्वरको आज्ञापालन नगर्नु हो।

असल र खराबको ज्ञान दिने रुखको विषयमा परमेश्वरको दिनुभएको आज्ञा पालन नगरेर आदम र हव्वाले पाप गरे।

परमेश्वरले मानवजातिको निम्ति बाइबलमा थुप्रै आज्ञाहरू दिनुभएको छ। परमेश्वरका व्यवस्थाहरू मध्ये सबैभन्दा महत्त्वपूर्ण आज्ञाहरूलाई दश आज्ञाहरू भनिन्छ। परमेश्वरले इस्राएललाई यी आज्ञाहरू करिब ३,५०० वर्षअगाडी सिनाई पर्वतमा दिनुभयो। परमेश्वर आफैंले यी आज्ञाहरूलाई ढुङ्गाका दुई पाटीहरूमा लेख्नुभयो। ती आज्ञाहरू यस प्रकारका छन्:

१.      “मेरा सामु तिम्रा अरू कुनै ईश्वरहरू हुनुहुँदैन!” (प्रस्थान २०:३)।

२.      “तिमीले आफ्ना निम्ति कुनै खोपेको मूर्ति नबनाउनु, अथवा माथि आकाशमा भएको, तर पृथ्वीमा भएको वा पृथ्वीमनि पानीभित्र भएको कुनै थोकको प्रतिमूर्ति नबनाउन। तिमीले तिनीहरूलाई दण्डवत नगर्नु, र तिनीहरूको पूजा नगर्नु; किनकि म, परमप्रभु तिम्रा परमेश्वर जलन राख्ने ईश्वर हुँ; मलाई घृणा गर्नेहरूका सन्तानहरूलाई तिनीहरूका पुर्खाहरूको अधर्मका निम्ति म तेस्रो र चौथो पुस्तासम्म दण्ड दिन्छु; तर मलाई प्रेम गर्नेहरू र मेरा आज्ञा पालन गर्नेहरूका हजारौं पुस्ताहरूलाई म करूणा देखाउँछु” (प्रस्थान २०:४-६)।

३.      “तिमीले परमप्रभु आफ्ना परमेश्वरको नाम व्यर्थैमा नलिनू; किनकि जसले उहाँको नाम व्यर्थमा लिन्छ, त्यसलाई परमप्रभुले निर्दोष ठहर्याउनुहुनेछैन” (प्रस्थान २०:७)।

४.      “विश्राम दिन पवित्र मान्नलाई यसको सम्झना राख्नू! छ दिन तिमीले परिश्रम गर्नू, र आफ्ना सबै काम गर्नू; तर सातौं दिनचाहिँ परमप्रभु तिम्रा परमेश्वरको विश्राम दिन हो; यसमा तिमीले कुनै काम नगर्नू — न तिमीले, न तिम्रा छोराले, न तिम्री छोरीले, न तिम्रो कमाराले, न तिम्री कमारीले, न तिम्रा गाईबस्तुले, न तिम्रा मूलढोकाहरूभित्र बस्ने तिम्रो परदेशीले; किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोकहरू बनाउनुभयो, र सातौं दिनमा विश्राम लिनुभयो; यसैकारण परमप्रभुले विश्राम दिनलाई आशिष दिनुभयो, र यसलाई पवित्र तुल्याउनुभयो” (प्रास्थान २०:८-११)।

५.      “आफ्ना बाबु र आफ्नी आमालाई आदर गर; र जुन देश परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुहुन्छ, त्यस देशमा तिम्रो आयु लामो होस्!” (प्रस्थान २०:१२)।

६.      “तिमीले हत्या नगर्नू!” (प्रस्थान २०:१३)।

७.      “तिमीले व्यभिचार नगर्नू!” (प्रस्थान २०:१४)।

८.      “तिमीले चोरी नगर्नू!” (प्रस्थान २०:१५)।

९.      “तिमीले आफ्नो छिमेकीको विरोधमा झूटा गवाही नदिनू!” (प्रस्थान २०:१६)।

१०.  “तिमीले आफ्नो छिमेकीको घरको लालच नगर्नू, तिमीले आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नू; न ता उसको कमारा, न उसकी कमारी, न उसको गोरू, न उसको गधा, न ता आफ्नो छिमेकीको कुनै थोकको लालच गर्नू!” (प्रस्थान २०:१७)।

 

यदि मैले परमेश्वरको आज्ञाहरू मध्ये कुनै एउटा मात्र उल्लंघन गर्दछु भने, म एउटा पापी हुँ र मैले दण्ड भोग्नेछु।

दश आज्ञाहरूद्वारा नै एकपल्ट जाँच गरौं।

के तपाईंले सत्य परमेश्वरलाई आफ्नो जीवनमा सँधै पहिलो स्थान दिनुभएको छ? छैन भने, तपाईंले परमेश्वरको पहिलो आज्ञालाई तोड्नु भएको छ।

के तपाईंले कहिल्यै मूर्तीहरूको पूजा गर्नुभएको छ? छ भने, तपाईंले परमेश्वको दोश्रो आज्ञालई तोड्नुभएको छ।

के तपाईंले “हे प्रभु!” भनेर परमेश्वरको नामलाई हलुका ठानेर कहिल्यै परमेश्वरको नाम व्यर्थमा लिनुभएको छ? छ भने, तपाईंले परमेश्वरको तेश्रो आज्ञालाई तोड्नुभएको छ।

के तपाईंले कहिल्यै आफ्ना बाबु-आमाहरूको आज्ञा पालन नगर्नु भएको र उहाँहरूलाई अनादर गर्नुभएको छ? छ भने, तपाईंले परमेश्वरको पाचौँ आज्ञालाई तोड्नुभएको छ।

के तपाईंले कहिल्यै कुनै कुरा चोरी गर्नुभएको छ? छ भने, तपाईंले परमेश्वरको आठौं आज्ञालाई तोड्नुभएको छ।

के तपाईंले कहिल्यै झूठ बोल्नुभएको छ? छ भने, तपाईंले परमेश्वरको नवौं आज्ञालाई तोड्नुभएको छ।

के तपाईंले कहिल्यै लोभ गर्नुभएको छ? छ भने, तपाईंले परमेश्वरको दशौं आज्ञालाई तोड्नुभएको छ।

पाप भनेको हामीले गर्ने निश्चित कार्यहरूसँग मात्र सरोकार राख्ने कुरा होइन तर हामीले सोच्ने कार्यसँग पनि सरोकार राख्ने कुरा हो भनी येशूले सिकाउनुभयो। तल लेखिएको शिक्षालाई ध्यान दिनुहोस्:

“तिमीहरूले सुनेका छौ, पुराना समयकाहरूलाई यो भनिएको थियो, ‘तिमीले व्यभिचार नगर।’ तर म तिमीहरूलाई भन्दछु, जसकसैले कुनै स्त्रीलाई खराब इच्छाले हेर्छ, त्यसले अघि नै आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ” (मत्ती ५:२७-२८)।

यदि कुनै मानिसले आफ्नो हृदयमा कुनै स्त्रीको बारेमा अभिलाषा गर्छ भने, यो व्यभिचारको पाप हो भनी येशू सिकाउनुभयो। मानिसले हृदय देख्न सक्दैन, तर परमेश्वरले सक्नुहुन्छ।

बाइबलले सिकाउँछ कि यदि मैले कुनै एउटा बिन्दुमा मात्र पनि परमेश्वरको आज्ञाहरू तोड्न पुग्छु भने, मैले परमेश्वरको दृष्टिमा सबै आज्ञाहरू तोडेको हुन्छु।

“किनकि जसकसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिएको छ” (याकूब २:१०)।

यसको अर्थ यही हो कि सम्पूर्ण मानिसहरू परमेश्वरको सामु पापीहरू हुन्। बाइबलमा लेखिएका निम्न पादहरूलाई बिचार गर्नुहोस्।

“जस्तो लेखिएको छ: धर्मी कोही छैन, एउटै पनि छैन’” (रोमी ३:१०)।

“किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमा रहित हुनगएका छन्” (रोमी ३:२३)।

३.      पापको दण्ड के हो?

बाइबलले भन्दछ कि पापको ज्याला मृत्यु हो (रोमी ६:२३)।

मृत्यु दुई प्रकारको हुन्छ। पहिलो, शारीरिक मृत्यु। सबै मानिसहरूले पाप गरेको कारण हरेक मानिसहरूको भौतिक मृत्यु हुन्छ। त्यसपछि, त्यहाँ आगोको झीलमा अनन्तको निम्ति तड्पीरहनुपर्ने दोश्रो मृत्यु छ।

“अनि मृत्यु र नरक आगोको झीलभित्र फ्याँकिए। यो दोस्रो मृत्यु हो। अनि जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन, त्यो आगोको झीलभित्र फ्याँकियो” (प्रकाश २०:१४-१५)।

“तर डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ; यो दोस्रो मृत्यु हो” (प्रकाश २१:८)।

परमेश्वरले दिनुहुने पापको दण्ड भयानक छ, र बाँच्ने मार्ग केवल एउटा मात्र छ।

४.      पापको दण्डबाट मैले कसरी मुक्ति पाउन सक्छु?

परमेश्वरले सबै मानिसहरूलाई प्रेम गर्नुभएकोले, उहाँले मुक्तिको बाटो पनि तयार पार्नुभएको छ। पापको दण्डबाट बाँच्ने तरिका निम्न पदहरूले वर्णन गर्छन्:

“किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो” (रोमी ६:२३)।

“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो –उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्।” (येशू ख्रीष्ट, यूहन्ना ३:१६)।

पछिल्लो पद यूहन्नाको पुस्तकबाट उद्धरण गरिएको हो जसले येशू ख्रीष्टको बारेमा बताउँछ, र यो पद झण्डै तीन हजार भाषाहरूमा अनुवाद गरिएको छ।

मानिसहरूले परमेश्वरको विरुद्धमा पाप गरेको भएतापनि, उहाँले मानिसहरूलाई प्रेम गर्नुहुन्छ र उनीहरूलाई मुक्ति दिन चाहनुहुन्छ। क्रूसमा पापीहरूको सट्टामा दु:ख भोग्न र मर्नको निम्ति उहाँले आफ्नै पुत्रलाई पठाउनुभयो। जुन दण्डको हामी योग्यको थियौं, त्यो दण्ड उहाँले भोग्नुभयो। हामीले तिर्नुपर्ने पापको ऋण उहाँले तिर्नुभयो। उहाँ हरेक पापीहरूलाई मुक्तिको दान दिन चाहनुहुन्छ।

मानों यो कुनै यस्तो अवस्था जस्तो हो जहाँ तपाईंले आफ्नो ऋणदातालाई एक करोड रूपैंया तिर्नुपर्नेथियो। यो ऋण कहिल्यै पनि तपाईं आफैंले तिर्न सक्नुहुँदैन, त्यसैले तपाईं झ्यालखाना जानैपर्छ।  तपाईंले त्यो ऋण तिर्न नसक्नुभएको हुनाले, तपाईं कहिल्यै पनि झ्यालखानाबाट मुक्त हुन सक्नुहुँदैन। तर यदि कुनै धनी मानिसले तपाईंको निम्ति त्यो ऋण तिरिदियो भने, तपाईं स्वतन्त्र हुन सक्नुहुन्छ। येशूले तपाईंको निम्ति गरिदिनुभएको पनि त्यहि हो। उहाँको पवित्र नियमहरू विरूद्धमा गरिएका हाम्रा पापको कारणले हामीले परमेश्वरलाई तिर्नु पर्ने ठूलो ऋण येशूले तिरिदिनुभयो। हामी मृत्युको योग्यका छौं, तर उहाँ हाम्रो सट्टामा मर्नुभयो।

मुक्ति परमेश्वरको दान हो भनी बाइबलले भन्दछ। दान भनेको यस्तो कुरा हो जुन अरू कसैले किनेर तपाईंलाई सित्तैंमा दिँदछ। परमेश्वरको गर्नुभएको यही हो। यदि मानवीय कामहरू वा धर्महरूले मुक्ति पाउने हुँदो हो ता, यो परमेश्वरको दान हुन सक्दैनथियो। यदि तपाईंले कुनै कुराको निम्ति काम गर्नुहुन्छ भने, तपाईंले ईनाम वा ज्याला कमाउनुहुन्छ। तर मुक्ति त दान हो जसलाई परमेश्वरले हाम्रो निम्ति क्रूसमा मर्नुभइकन किन्नुभयो। उहाँले हाम्रो खातीर सबै कुराहरू गर्नुभयो, र विश्वास गर्ने हरेकलाई मुक्तिको दान दिन चाहनुहुन्छ।

हरेक पापी जसले आफू पापी भएको स्वीकार गर्दछ र उसको झूटो धर्मबाट फर्कन्छ अनि येशूलाई प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्छ, उसलाई उसको पापबाट क्षमा दिइनेछ र अनन्त जीवनको दान दिइनेछ।

“यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यौ भने, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिमीले मुक्ति पाउनेछौ” (रोमी १०:९-१३)।

के आज तपाईं येशू ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाता भनी स्वीकार गर्न तयार हुनुहुन्छ? के तपाईंले परमेश्वरको मुक्तिको दान ग्रहण गर्नुहुन्छ?

पुनरावलोकन प्रश्नहरू, पाप

१.      मानव इतिहासमा पापको शुरुवात कहिले भयो?

२.      मानव हृदयको बारेमा बाइबलले के भन्दछ?

३.      पापको अर्थ के हो?

४.      तपाईंको विचारमा, सबै मानिसहरू पापी हुन् भन्ने प्रमाण के हो?

५.      परमेश्वरको दश आज्ञाहरू मध्ये पहिलो के हो?

६.      येशूको शिक्षा अनुसार, व्यभिचार कहाँ सुरु हुन्छ?

७.      पापी बनिनको निम्ति तपाईंले कतिओटा परमेश्वरको आज्ञाहरू तोड्नुपर्छ?

८.      कति प्रतिशत मानिसहरू पापी छन्?

९.      बाइबलको अनुसार, पापको ज्याला के हो?

१०.  दुई प्रकारका मृत्युहरू के-के हुन्?

११.  किन परमेश्वरले मानिसहरूको निम्ति मुक्ति बाटो तयार पार्नुभयो?

१२.  मुक्तिलाई किन दान भनिएको हो?

१३.  यदि मुक्ति मानवीय कामहरू र असल कार्यहरू र धर्मद्वारा पाइने हो भने, के यो दान हुनसक्थ्यो?

१४.  परमेश्वरको मुक्तिको दान पाउन एउटा व्यक्तिले के गर्नुपर्छ?

Leave a Reply